युवा संघको महाधिवेशनमा थेवे र पुरीको अध्यक्षमा उम्मेदवारी

हिमाल प्रेस ११ जेठ २०८२ २०:२६ | Sunday, May 25, 2025
युवा संघको महाधिवेशनमा थेवे र पुरीको अध्यक्षमा उम्मेदवारी

पोखरा– पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशनअन्तर्गत नेतृत्वमा सर्वसम्मत् प्रयास विफल भएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको छ।

तीनदिने महाधिवेशनको अन्तिम तथा तेस्रो दिन महाधिवेशनस्थल पोखरा सभागृहमा चुनावी प्रक्रियाको काम जारी छ। आगामी नेतृत्वका लागि क्षितिज थेवे र सुमन पुरीले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले भने, ‘अहिले उम्मेदवारी मनोनयन पत्र बुझाउने काम भइरहेको छ। अध्यक्षमा क्षितिज थेवे र सुमन पुरीज्यूले मनोनयन दर्ता गराउनुभएको छ। अरु पदहरुमा पनि बुझ्ने काम भइरहेको छ।’

थेवे हालका अध्यक्ष हुन् भने पुरी महासचिव हुन्। थेवेलाई दोहोर्‍याउने प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुको तीन दिनसम्मको प्रयासमा पुरीले अडान नछाड्दा चुनावी प्रक्रिया अगाडि बढेको हो।

रात घर्किँदै गएपछि निर्वाचन समितिले आइतबार रातिसम्म मनोनयनपत्र बुझेर सकेसम्म प्रारम्भिक उम्मेदवारी दर्ता नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रमुख निर्वाचन अधिकृत तिवारी भन्छन्, ‘हेरौँ आज सकेसम्म प्रारम्भिक उम्मेदवारी दर्ताको नामावली टाँस गर्न सकिन्छ कि भन्ने छ। नभए निर्वाचनका बाँकी कार्यक्रमहरु भोलि बिहानदेखि सुरु हुनेछन्।’

उनका अनुसार सोमबार उम्मेदवारको मनोनयन फिर्ता, दाबी विरोध, अन्तिम नामावली प्रकाशनलगायतका कार्यक्रम हुनेछन्। उम्मेदवारको अन्तिम नामावली आइसकेपछि इलेक्ट्रोनिक भोटिङमा त्यसको सेटिङ गर्दा कम्तीमा ८ घण्टा लाग्ने बताइएको छ। त्यसो भए सोमबार राति नै पर्ने भएकाले मतदान प्रक्रिया मंगलबारसम्म हुनुपर्नेछ। निर्वाचन समितिले भोटिङका लागि ४५ वटा इलेक्ट्रोनिक भोटिङ मेसिन तयार पारेको जनाएको छ।

युवा संघको आगामी नेतृत्व १५१ सदस्यीय हुनेछ। जसमा अध्यक्ष, उपाध्यक्ष (महिलासहित २), महासचिव, उपमहासचिव, सचिव ४, कोषाध्यक्ष पदाधिकारीसहित १५१ सदस्यीय नेतृत्व चयने युवा संघ नेपाल कास्की सचिव हिमाल गुरुङले जानकारी दिए। महाधिवेशनमा साढे १७ सय मतदाता छन्।

शुक्रबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पोखराको अमरसिंह चौरमा आयोजित समारोहमा महाधिवेशन उद्घाटन गरेका हुन्।

प्रकाशित: ११ जेठ २०८२ २०:२६ | Sunday, May 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast