मुलुकमा रोजगारीको सम्भावना छैन भन्ने नैराश्यता हटाउन जरूरी छ : मन्त्री भण्डारी

हिमाल प्रेस ११ जेठ २०८२ २०:४८ | Sunday, May 25, 2025
मुलुकमा रोजगारीको सम्भावना छैन भन्ने नैराश्यता हटाउन जरूरी छ : मन्त्री भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी

ललितपुर– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आन्तरिक रोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको पुनःएकीकरणसम्बन्धी छलफलमा उनले मुलुकमा रोजगारीको सम्भावना नै छैन भन्ने धारणाबाट बढेको नैराश्यता हटाउन जरूरी रहेको बताए।

‘दोषारोपण गरेर हैन, यथार्थतालाई चिरफार गरेर अगाडि बढ्नुपर्छ, रोजगारदाताले उपयुक्त जनशक्ति पाइरहेको छैन, यहाँका काममा बाहिरबाट मानिस आउनुपर्ने अवस्था छ। भनसुनविनै योग्यता, क्षमताअनुसारको काम पाउने अवस्था सृजना गर्न श्रम संसारको सुरुआत गरेका छौँ, त्यसलाई नागरिक एपमा जोड्छौँ,’ मन्त्री भण्डारीले भने, ‘सरोकार भएकाहरूलाई एकीकृत गरेर सुधारका काम गर्छौँ, विदेशबाट फर्किएर आएका र रोजगारीको खोजीमा रहेकालाई रोजगारमा जोड्ने गरी काम गर्नुपर्छ भनेर लागिरहेका छौँ।’

उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको काम वैदेशिक रोजगारको मात्रै काम हो भन्ने सोचबाट मुक्त भएर मुलुकमा भएको रोजगारीको सम्भावना र अवसरलाई पनि ध्यान दिएर काम गर्न लागिपरेको बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले देशभित्रै उत्पादनका क्षेत्रमा रोजगारीको सृजना गर्न ध्यान दिनुपर्नेमा जोड दिए। उनले कृषि, निर्माण, पर्यटन, होटललगायतका क्षेत्रमा सम्भावना रहेकाले यसमा लगानी गर्नुपर्ने बताए।

अधिकारीले दिगो विकास योजनाअनुसारको लक्ष्य प्राप्त गर्न ३० खर्ब २३ अर्ब लगानी गर्नुपर्ने भन्दै उद्योग विभागले सम्पादन गर्ने हरेक कार्यसँग रोजगारीलाई जोड्नुपर्नेमा जोड दिए।

प्रकाशित: ११ जेठ २०८२ २०:४८ | Sunday, May 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast