 
                             
                                            काठमाडौँ- राजस्थान रोयल्समाथि सय रनको शानदार जित निकाल्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
गएराति जयपुरस्थित सवाई मानसिंह स्टेडियममा सम्पन्न खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २ विकेटको क्षतिमा २१७ रनको विशाल योगफल खडा गरेको थियो। जवाफमा राजस्थान रोयल्स १६.१ ओभरमा मात्र ११७ रनमा समेटियो।
मुम्बईका लागि बलिङमा ट्रेन्ट बोल्ट र कर्ण शर्माले समान ३ विकेट लिए भने जसप्रित बुमराहले २ तथा दिपक चाहर र हार्दिक पाण्ड्याले १-१ विकेट लिए। राजस्थानका लागि जोफ्रा आर्चरले ३० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन संघर्ष गरे।
यसअघि मुम्बईका ओपनर र्यान रिकेल्टनले ३८ बलमा ७ चौका र ३ छक्का सहित ६१ रन बनाए भने अर्का ओपनर रोहित शर्माले ३६ बलमा ९ चौका प्रहार गर्दै ५३ रनको योगदान दिए। त्यसपछि सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्याले २३–२३ बलमा समान ४८–४८ रन बनाउँदै टोलीलाई २१७ सम्म पुर्याएका थिए।
राजस्थानका महिश थिकशाना र रियान परागले एक–एक विकेट लिए। यस जितसँगै मुम्बईको १४ अंक भएको छ र टोली शीर्ष स्थानमा उक्लिएको छ। अर्कोतर्फ राजस्थान ६ अंकसहित आठौं स्थानमा सीमित छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 