भारतीय वायु रक्षा प्रणालीभित्र शत्रु प्रवेश गर्न असम्भव थियो : भारतीय सेना

हिमाल प्रेस २९ वैशाख २०८२ १६:५९ | Monday, May 12, 2025
भारतीय वायु रक्षा प्रणालीभित्र शत्रु प्रवेश गर्न असम्भव थियो : भारतीय सेना

काठमाडौँ- भारतीय सेनाले भारतको बलियो ‘एयर डिफेन्स सिस्टम’ ले पाकिस्तानको कैयौँ ड्रोन र मिसाइल आक्रमणलाई विफल तुल्याएको जनाएको छ।  ‘अपरेसन सिन्दूर’ को सन्दर्भमा सोमबार भारतीय सैन्य महानिर्देशकले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

एयर अपरेसन्सका महानिर्देशक जनरल एयर मार्शल एके भारतीले भारतीय वायु रक्षा प्रणालीभित्र शत्रुलाई प्रवेश गर्न असम्भव भएको बताए।

उनले भने,‘हाम्रोतर्फबाट वायु रक्षा प्रणाली देशका लागि पर्खालझैँ उभिएको थियो, यसभित्र प्रवेश गर्न शत्रुका लागि असम्भव थियो।’

मिडिया ब्रिफिङमा एयर मार्शल भारतीले चीनमा निर्मित मिसाइल पीएल–१५ बारे पनि चर्चा गरे। उनले केही तस्बिर देखाउँदै ‘यो चिनियाँ मिसाइल पीएल–१५ को हुनसक्ने’ दाबी गरे।

भारतमाथि पाकिस्तानले प्रयोग गरेको चीनको पीएल–१५ मिसाइल आफ्नो लक्ष्यमा चुकेको उनले बताए। भारतीले आफूहरूको लडाइँ आतंकवाद र आतंकवादीविरूद्ध भएको बताए।

‘हाम्रो लडाइँ आतंकवाद र आतंकवादीविरूद्ध थियो। त्यसैले मे ७ मा हामीले केवल आतंकवादी अड्डाहरूमा मात्रै आक्रमण ग¥यौँ,’ भारतीले भने,‘दुःखका साथ भन्नुपर्छ पाकिस्तानी सेनाले आतंकवादीलाई साथ दिन उपयुक्त ठान्यो र यो लडाइँलाई आफ्नो लडाइँ बनायो। यो परिस्थितिमा हाम्रो जवाफी कारबाही आवश्यक थियो। यसमा भोग्नुपरेको क्षतिका लागि पाकिस्तान स्वयं जिम्मेवार हो।’

एयर मार्शल भारतीले देशका सबै सैन्य अड्डा र प्रणालीहरू कार्यान्वयनमा रहेको बताए। ‘देशका सबै सैन्य अड्डा, सबै प्रणाली पूर्णरूपले कार्यान्वयनमा छन् र आवश्यक परे भविष्यमा कुनै पनि मिसन पूरा गर्न तयार छ,’ उनले भने।

प्रकाशित: २९ वैशाख २०८२ १६:५९ | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast