 
                             
                                            रौतहट- नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चन्द्रपुरको टिमले चेतनगर क्षेत्रमा सञ्चालन गरेको घरदैलो अभियानमा ५० भन्दा बढी विद्यालय नजाने बालबालिका भेटिएको तथ्य फेला पारेको छ।
विद्यालयको औपचारिक संरचना बाहिर बालबालिकाहरू विभिन्न घरेलु तथा आर्थिक क्रियाकलापमा व्यस्त देखिएपछि टिमले अभिभावकहरूसँग संवाद गर्दै शिक्षा आवश्यकताबारे चेतना फैलाउने प्रयास गरेको थियो।
टोलीका अनुसार चेतनगर–खौराहा सडक असहज र अव्यवस्थित हुँदा बालबालिकाहरू विद्यालय आउन सक्दैनन्। ‘यदि उक्त बाटो सफा र सुरक्षित बनाइयो भने धेरै बालबालिका सहजै विद्यालयसम्म आउन सक्ने थिए,’ विद्यालय टिमको भनाइ छ।
शिक्षक तथा स्वयंसेवकहरूको सहभागी टोलीले घरघरमा पुगेर शिक्षा सबैका लागि राज्यको मूल धारणा हो भन्ने विषयमा अभिभावकहरूलाई जानकारी गराएको थियो। अभिभावकहरूले पनि बाटो, पहुँच र घरको कामका कारण बालबालिकालाई विद्यालय पठाउन कठिन हुने बताएका छन्।
‘हामीले बुझायौं कि शिक्षा जीवन परिवर्तनको आधार हो,’ टोलीका एक सदस्यले भने, ‘तर यसको प्रभाव तब मात्र देखिन्छ जब सबै सरोकारवालाहरू मिलेर प्रयास गर्छन्।’
विद्यालयले चेतनगर क्षेत्रमा शिक्षा अभियानलाई नियमित गर्दै थप अभिभावक र समुदायलाई समेट्ने योजना बनाएको जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 