भरतपुरमा भूमिगत विद्युतीकरण ७५ प्रतिशत सम्पन्न

हिमाल प्रेस २८ वैशाख २०८२ १५:४६ | Sunday, May 11, 2025
भरतपुरमा भूमिगत विद्युतीकरण ७५ प्रतिशत सम्पन्न

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम केन्द्रीय बस ट्रमिनलबाट टिकौलीसम्मको बाहेक अन्यत्रको भूमिगत गर्ने काम सम्पन्न भएकोे जनाएको छ।

आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलचोकबाट केन्द्रीय बस ट्रर्मिलनसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ। ती क्षेत्रमा स्थानीयको घरमा जडानको काम बाँकी रहेको उनले जानकारी दिए।

बाइपास सडकमा आँपटारीबाट केन्द्रीय बस ट्रर्मिनलसम्मको सडकमा दाँहिनपट्टी भूमिगतको काम सम्पन्न भएको छ भने देब्रेपट्टी भूमिगत गर्ने काम बाँकी छ। उनले भने, ‘फाउण्डेसन राख्ने काम सकिएको छ। केही ठाउँमा मुख्य लाइन जडान बाँकी छ। ३३ केभी जडानको काम सकिएको छभने ११ केभी र ४०० भोल्टको केवल राख्ने काम जारी छ।’

पारस बसपार्कबाट गोन्द्राङ्तर्फको कामका लागि सडक विभागसँग अनुमति लिने प्रक्रिया भइरहेको इञ्जिनीयर सुवेदीले जानकारी दिए। उनले भने, ‘वर्षाको समयमा फाउण्डेसन निर्माणमा कठिनाइ हुने भएकाले केही समय ढिला हुने देखिएको छ।’

खाल्डा खन्ने क्रममा पानी आउने भएकाले वर्षापछि त्यस क्षेत्रको काम सुरु गरिने उनले बताए। सडक विभागबाट अनुमति आएसँगै काम अघि बढाइने उनले जानकारी दिए। केन्द्रीय बस ट्रर्मिनलबाट गोन्द्राङ्सम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गरिने उनको भनाइ छ।

पछिल्लो सम्झौता अनुसार भरतपुर महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिने उनले जानकारी दिए। उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि एक अर्ब ४० करोड लागत लाग्ने छ। सुरुवाती समयमा एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको सुवेदीले बताए। ठेक्का सम्झौता अनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ। काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको उनले बताए। एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो।

प्रकाशित: २८ वैशाख २०८२ १५:४६ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast