बेइजिङमा मनाइयो बुद्धजयन्ती

अजय अलौकिक २९ वैशाख २०८२ १६:०७ | Monday, May 12, 2025
2
SHARE
बेइजिङमा मनाइयो बुद्धजयन्ती

बेइजिङ- बेइजिङमा पनि शान्तिका अग्रदूत गौतम बुद्धको २५६९औँ जन्मजयन्ती मनाइएको छ। बुद्धजयन्तीको अवसर पारेर सोमबार बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले पनि एक समारोह आयोजना गरेको हो।

सो अवसरमा चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले बुद्धको महिमा, बुद्ध सन्देशको महत्त्वबारे चर्चा गर्दै आफ्नो सम्बोधनमा इतिहासदेखि नै नेपाल र चीनलाई नजिक ल्याउन बौद्ध धर्मको महत्त्वपूर्ण भूमिका भएको व्यक्त गरे।

उनले नेपाल चीन सम्बन्धले बौद्ध धर्म प्रतिबिम्बित गर्ने पनि औँल्याए। ‘हाम्रा कूटनीतिक सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित छन्, जसले आपसी सम्मान, आपसी बुझाइ, अहिंसा, समानता र शान्तिपूर्ण सहकार्यको बौद्ध भावनाको प्रतिबिम्बित गर्दछ’, उनले भने।

उनले चालु वर्ष नेपाल-चीनबीच दौत्य सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइरहेको यस अवसरमा बुद्धजयन्ती आध्यात्मिक पर्यटनको प्रचारका लागि एउटा महान् अवसर भएको पनि औँल्याए।

चीनको बौद्ध धर्म समितिका उपाध्यक्ष तथा लिङक्वाङ मन्दिरका महन्त समादरणीय छाङ चाङले चीन र नेपाल असल छिमेकी मुलुक र दुई देशका जनताबीच निकै घनिष्ठ सम्बन्ध रहेको औँल्याउँदै यस वर्ष निकै महत्त्वपूर्ण रहेको सुनाए। उनले भने, ‘वर्ष २०२५ ले चीन र नेपाल बीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्ष, चीनमा “नेपाल पर्यटन वर्ष” र हाम्रो संघद्वारा निर्मित लुम्बिनीको चीन मन्दिरको पूर्णता र आराधनाको २५ औँ वर्षगाँठलाई प्रतिनिधित्व गर्दछ।’

चीनमा बस्दैआएका नेपाली तथा चिनियाँ बौद्ध धर्मावलम्बी र शुभेच्छुक बीच दूतावासमा प्रार्थना कार्यक्रमका साथै ध्यान तथा योग कार्यक्रम आयोजना गरिएको थियो। विभिन्न देशका राजदूत तथा दूतावासका तर्फबाट कूटनीतिज्ञहरूसहित चीनमा बस्दैआएका नेपाली तथा चिनियाँ गरी १ सय २० भन्दा बढीको सहभागिता थियो।

चीनमा बुद्धजयन्ती चिनियाँ पात्रोअनुसार चौथो महिनाको आठौँ दिनमा मनाइन्छ। यस वर्ष (२०२५) मे ५ तारिख चिनियाँ बौद्ध धर्मावलम्बीहरूले बुद्धजयन्ती मनाएका छन्।

शताब्दीमा नदेखिएका परिवर्तन र अप्ठ्यारा स्थिति भोगिरहेको विश्वलाई गौतम बुद्धका वाणी तथा दर्शन  निकै सान्दर्भिक बनेको छ। गौतम बुद्धको जन्मस्थलको प्रचारप्रसार सँगसँगै बौद्ध दर्शनको महत्त्व र महिमाको चर्चा र चिन्तन थप आवश्यक बनेको छ।

प्रकाशित: २९ वैशाख २०८२ १६:०७ | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast