 
                             
                                            रौतहट- चन्द्रपुर–१०, खौराहा सलेमपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय नजिकैको बस्तीमा बाटो सरसफाइ गरिएको छ। विद्यार्थी भर्ना अभियानका बेला बालबालिकाले विद्यालय जाने बाटोको असहज अवस्था बताएपछि विद्यालयले बाटो सरसफाइ गरेको हो।
विद्यालयका अनुसार विद्यालयमा नाम दर्ता गर्न योग्य उमेर समूहका धेरै बालबालिका शौच, फोहर तथा दुर्गन्धयुक्त बाटोका कारण विद्यालय जान सकेका थिएनन्। यो अवस्थाले बालबालिकाको शिक्षामा प्रत्यक्ष बाधा पुर्याउँदै आएको थियो।
यस समस्या समाधानका लागि जेठ १४ गते चन्द्रपुर नगरपालिकाकी उपमेयर जयमाला चौधरीको विशेष पहलमा जेसीबीको सहयोगमा सो बाटोको सरसफाइ गरिएको छ।
सरसफाइ कार्यले बाटोमा रहेका फोहर, दुर्गन्ध र असहज अवस्था हटाउँदै बालबालिकाको विद्यालय आवागमन सहज बनाएको छ।
विद्यालय प्रशासनले अभिभावक, स्थानीय समुदाय, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै शिक्षालाई सबैका लागि सहज र सुलभ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
‘सहकार्य, समर्पण र सामूहिक प्रयासमार्फत मात्र शिक्षित समाजको परिकल्पना साकार पार्न सकिन्छ,’ विद्यालयले भनेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 