बजेटमा बूढीगण्डकी–उत्तरगंगा जलविद्युत् आयोजना प्राथमिकतामा राख्न सांसद विष्टको सुझाव

हिमाल प्रेस ३० वैशाख २०८२ १७:५२ | Tuesday, May 13, 2025
बजेटमा बूढीगण्डकी–उत्तरगंगा जलविद्युत् आयोजना प्राथमिकतामा राख्न सांसद विष्टको सुझाव

काठमाडौँ- नेकपा एमालेका सांसद गोकर्ण विष्टले मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने बृहत् उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने विचार व्यक्त गरेका छन्।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) आजदेखि सुरु भएको छलफलमा भाग लिँदै उनले आर्थिक असमनताको अन्त्य गर्दै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण गर्ने लक्ष्य विधेयकमा राखिएकामा त्यसको स्वागत गरे।

नागरिकको जीवनस्तर माथि उठाउने र आम नागरिकले राज्यको साधन स्रोतको समान उपभोग गर्न पाउने प्रबन्धलाई सुनिश्चित गर्ने प्रयत्न भएको, मनोमानी ढंगले स्रोतको विनियोजन गर्ने प्रवृत्ति हटेको जनाउँदै उनले बजेट अनुशासन कायम गर्नुपर्नेमा जोड दिए।

सांसद विष्टले देशभित्रै रोजगारीको प्रबन्ध गर्न, युवा पुस्तालाई प्रविधि र सीपका माध्यमबाट क्षमतावान् बनाउनुपर्ने, श्रम बजारको मागअनुसार जनशक्ति उत्पादनमा ध्यान दिने र रोजगारीका आधार निर्माण गर्नेगरी बजेटमा व्यवस्था हुनुपर्ने बताए।

बूढीगण्डकी, उत्तरगंगाजस्ता जलाशयुक्त जलविद्युत् आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेर हिउँदको विद्युत् माग सम्बोधन गर्ने गरी अगाडि बढ्ने सरकारी सोचको सराहना गर्दै उनले सोही अनुसार बजेट विनियोजन गर्नुैपर्ने बताए।

पर्यटन पूर्वाधार निर्माणमा जोड दिँदै सांसद विष्टले गुणस्तरीय शिक्षामा ध्यान दिन, युवालाई सूचना र प्रविधिमा केन्द्रित गरी १५ लाखलाई रोजगारीको सुनिश्चितता हुनेगरी बजेट आउँनुपर्ने सुझाव दिए। मुलुकको समग्र आर्थिक विकासका निम्ति बजेटका प्राथमिकता र सिद्धान्त यर्थाथवादी भएको उनले बताए।

प्रकाशित: ३० वैशाख २०८२ १७:५२ | Tuesday, May 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast