पार्टीमा ओलीको गलत बोलीको कुरा नभएर मेरो कुरा भएको सुन्दा हाँसो उठ्यो : शेखर कोइराला

हिमाल प्रेस १६ जेठ २०८२ १६:१० | Friday, May 30, 2025
पार्टीमा ओलीको गलत बोलीको कुरा नभएर मेरो कुरा भएको सुन्दा हाँसो उठ्यो : शेखर कोइराला फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मानवअधिकार आयोगको वार्षिकोत्सव कार्यक्रममा सहभागी नभएर प्रधानमन्त्री केपी शर्मा ओलीले गलत गरेको बताएका छन्। बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै कोइरालाले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘मानवअधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने हामीले कस्तो लोकतन्त्र  खोजेका हौँ?’ देशको प्रधानमन्त्रीले राजधानी कब्जा गरौँ भन्ने अभिव्यक्तिको विरोध गर्दा पार्टीभित्रै आफ्नो विरोध गरेको कोइरालाले बताए।

उनले भने, ‘मैले जेठ १५ मा राजधानी कब्जा गरौँ भनेर प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको विरोध गरेको हुँ। हुन त मैले विरोध गर्नुले अर्थ राख्दैन।’ कोइरालाले मानवअधिकार आयोगले प्रधानमन्त्रीले यसरी बोल्नु हुँदैन भनेर सचेत गराएपछि ओली वार्षिकोत्सव कार्यक्रममा नगएको बताए।

यसैगरी पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल नभएर आफ्नो विषयमा कुरा भएको सुन्दा आश्चर्य लागेको बताए। उनले भने, ‘मलाई लागेको थियो, पदाधिकारीको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा कुरा हुन्छ तर त्यहाँ त मेरो बारेमा पो कुरा भएछ। यो थाहा पाउँदा मलाई हाँसो उठ्यो।’

उनले राजनीति गर्नेहरू लोकतान्त्रिक आचरणमा हिँड्नुपर्ने बताए। ‘सबैजना लोकतान्त्रिक आचरणमा हिँडौँ। गलत काम नगरौँ। सही काम गर्न सकिँदैन भने घरमै बसौँ भनेको हुँ।’ हाम्रो आचरण सुधार भएन भने जतिसुकै लोकतन्त्रको कुरा गरे पनि ठिक नहुने उनको भनाइ छ।

यसैगरी उनले गलत कामको विरोध गर्न सकेनौँ भने हामी कसैको दास मात्रै बन्ने बताए। कोइरालाले भने, ‘हामीले असललाई असल भनौँ, खराब भनौँ। गलत भन्नै नसक्ने हो भने हामी नेपाली कांग्रेसका कार्यकर्ता हुन सक्दैनौँ। गलत कुरालाई टुलुटुलु हेरेर बस्ने त दास हो भन्नुभएको छ बीपीले।’ उनले असल काम गर्न नसके पनि गलत काम नगर्न कार्यकर्तालाई निर्देशन दिए। ‘राजनीति भनेको नैतिकतामा आधारित हुन्छ। राजनीतिमा नैतिकताको धरातल कमजोर भयो भने त्यस्ता व्यक्तिले राजनीति नगरे हुन्छ।’

प्रकाशित: १६ जेठ २०८२ १६:१० | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast