 ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्का
                             ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्का
                                            काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले कृषि र खाद्य प्रणाली रूपान्तरणका लागि पानीको महत्व उच्च रहेको बताएका छन्।
जल स्रोत तथा सिंचाइ विभाग, राष्ट्रिय सिंचाइ तथा निकास समिति, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्था र इञ्जिनियरिङ अध्ययन सस्थानद्वारा संयुक्त आज यहाँ आयोजित ‘कृषि-खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलनमा उनले कृषि र खाद्य प्रणालीको रुपान्तरण गर्न पानीको महत्व उच्च भएकाले नेपाल सरकारले पनि यसलाई प्राथमिता दिएको जानकारी दिए।
‘पानीलाई पिउन र सरसफाइको लागि मात्र प्रयोग नगरी खाद्य प्रणालीको विस्तारमार्फत मानिसको जीवनस्तर सुधार गर्न मद्दत गर्दछ,’ उनले भने, ‘नेपालमा धेरैजसो मानिसहरु खेतीपाति र कृषि क्षेत्रमा निर्भर रहेको हुँदा यसलाई सुधार गर्न जरुरी छ।’
मन्त्री खड्काले जलवायु परिवर्तनका कारण खडेरी, बाढी र मौसम परिवर्तनका जोखिम बढ्दा यसले नेपालको कृषि र सिंचाई क्षेत्रमा ठूलो हानी पुर्याएको बताए।
सिंचाइले किसानलाई धेरै वाली उब्जाउन र नयाँ प्रविधिको प्रयोगमा सहयोग पुर्याउने उनको भनाइ थियो। उर्जामन्त्री खड्काले सरकारले विस २०८० मा जारी गरेको सिँचाई नीतिले राम्रो प्रविधिको प्रयोग गर्ने, वर्षभरि पानी दिने र स्थानीय समुदायसँग मिलेर काम गर्ने कुरामा सहयोग पुर्याउने उल्लेख गरे।
उनले भने, ‘सिंचाइ र कृषि क्षेत्रकोसँगै योजना बनाएर अगाडि बढेमात्र पानीको बचत गर्न सकिने छ।’
सम्मेलनमा ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले सम्मेलनले सिँचाइ र कृषि क्षेत्रको सहकार्यबाट खाद्य प्रणाली सुधारमा पानीको भूमिका पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दैे राष्ट्रिय विकासको आधार कृषि भएकाले यस क्षेत्रको विकासका लागि पानीको सही सदुपयोग हुनुपर्ने बताए।
कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले पानीको सही सदुपयोगमार्फत कृषि उत्पादकत्व बढाउनका लागि कृषि मन्त्रालय र सिंचाई विभागको थप समन्वयको आवश्यकता औँल्याउँदै सिंचाइ योग्य जमिनमा कृषिखेती नै प्रवर्द्धन गरिनुपर्ने बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 