पटकथा सुनेपछि अभिनय गर्न तयार भए : अभिनेता हमाल

हिमाल प्रेस २८ वैशाख २०८२ १६:०६ | Sunday, May 11, 2025
पटकथा सुनेपछि अभिनय गर्न तयार भए : अभिनेता हमाल

काठमाडौँ- अभिनेता राजेश हमाल आठ वर्षपछि फिल्ममा देखिँदैछन्। आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकोले अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए।

यसअघि अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले फिल्ममा नदेखिएको स्पष्ट गरे।

‘मलाई फिल्ममा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ। तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ। ‘नरसिंहा अवतार’ मा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ। फिल्मको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा ठूलो पर्दामा पुनः आएँ’, अभिनेता हमालले भने। फिल्मले मनोरञ्जनसँगै सामाजिक घटनालाई उजागर गरेको हमाले बताए।

निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः फिल्ममा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए। ‘अभिनेता हमालको प्रशंसक (फ्यान)का बारेमा मैले बोल्नै पर्दैन। त्यसैले उहाँलाई दर्शकको भावनाअनुरुप फिल्ममा प्रस्तुत गर्नु मेरा लागि ठूलो चुनौती थियो। उहाँलाई हेर्न फिल्म भवनसम्म आउनुहुने दर्शकले निराश हुनु पर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु। हाम्रो फिल्मको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु’, निर्देशक भट्टराईले भने।

उनले पछिल्लो समय प्रदर्शन भएका फिल्मभन्दा ‘नरसिंहा अवतार’ फरक रहेका भन्दै हलमा पुग्नुहुने दर्शकको समय र पैसाको सदुपयोग हुने दाबी गरे। फिल्ममा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकार एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन्।

फिल्म आगामी जेठ ९ देखि देशैभर प्रदर्शन हुँदैछ। फिल्मको निर्मातामा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन्।

प्रकाशित: २८ वैशाख २०८२ १६:०६ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast