 
                             
                                            काठमाडौँ– आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भई १८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशकाे वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा यस्तो तथ्यांक उल्लेख छ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३. ७ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ९२.६ प्रतिशत, ६.७ प्रतिशत २५.८ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, खोटोको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, जुश, तयारी पोसाकको निर्यात घटेको छ।
नौ महिनामा कुल वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३०९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.८ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.७ प्रतिशत, १४.४ प्रतिशत र २४.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल धान, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाईजहाजको पार्टपुर्जा, रासायनिक मल, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ।
आर्थिक वर्ष २०८१ / ८२ को नौ महिनामा कुल वस्तु व्यापार घाटा ६.४ प्रतिशतले वृद्धि भई ११२१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.८ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा निर्यात-आयात अनुपात १४.४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत थियो।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु १३५ अर्ब ५५ करोड बराबरको वस्तु आयात भएको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १११ अर्ब २ करोड बराबरको भएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 