नवनियुक्त गभर्नर डा.पौडेलले गरे पाँच सय र एक हजारका नोट छपाइमा हस्ताक्षर

हिमाल प्रेस ७ जेठ २०८२ १३:५४ | Wednesday, May 21, 2025
नवनियुक्त गभर्नर डा.पौडेलले गरे पाँच सय र एक हजारका नोट छपाइमा हस्ताक्षर फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले पदभार ग्रहणसँगै पाँच सय र एक हजारका नयाँ नोट छपाइसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्। गभर्नर नियुक्तिपछि राष्ट्र बैंकले छपाइको तयारीमा रहेको ठूला दरका नोटमा अब डा. पौडेलको हस्ताक्षर देखिनेछ।

बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा आज पदभार ग्रहण गर्दै डा.पौडेलले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै सुशासनमा आधारित मौद्रिक नीति अघि बढाउने बताए। उनले बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षण प्रणाली बलियो बनाउने र कर्जाको गुणस्तर सुधार गर्ने कार्यलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे।

उनले भने, ‘धेरै नियम बनाएर मात्र हुँदैन, सुपरीवेक्षण क्षमतामा जोड दिनुपर्छ। त्यसका लागि राष्ट्र बैंक आफैँ बलियो हुनुपर्छ।’

गभर्नर पौडेलले सरकारको वित्त नीतिलाई सघाउने ढंगले मौद्रिक नीति कार्यान्वयन गरिने बताए। साथै, नीति निर्माणका क्रममा सबै सरोकारवालासँग समन्वय र संवाद आवश्यक रहेको बताए। उनले भने, ‘म आफैँले प्रस्ताव ल्याएर निर्णय गर्ने पक्षमा छैन, छलफल गरेर मात्रै नीति बनाउँछु।’

त्यस्तै, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टको राजीनामा स्वीकृतको विषयमा बोल्दै उनले त्यसलाई राष्ट्र बैंकको आन्तरिक प्रक्रिया भएको बताए।

गभर्नर डा.पौडेलले आजै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका थिए। शपथपछि उनी अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाटका लागि अर्थ मन्त्रालय पुगेका थिए।

प्रकाशित: ७ जेठ २०८२ १३:५४ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast