 
                             
                                            काठमाडौँ- नेपाली रंगमञ्चमा सक्रिय संस्था मण्डला थिएटरले २०८२/८३ सालमा ११ जना निर्देशकसँग सहकार्य गर्दै नाटक मञ्चन गर्ने भएको छ। नाटकको दोस्रो सिजन अन्तर्गत थिएटरले आफ्नै टिम र युवा निर्देशक लक्षित यसवर्ष ११ नाटक मञ्चन गर्ने घोषणा गरेको हो।
जसमध्ये पाँच जना मण्डलाकै सोमनाथ खनाल, उमेश तामाङ, सुरज यादव, विकास जोशी र बुद्धि तामाङ छन् भने ६ जना सरस्वती चौधरी, गुञ्जन दीक्षित, संगीता थापा मगर, सुदिप खतिवडा, सागर खाती कामी र सन्दिप श्रेष्ठ जोडिएका छन्।
साथै गत सिजनमा व्यस्तताले नाटक निर्देशन गर्न नपाएका अनुप बराल र किरण चाम्लिङ राईले यसवर्ष नाटक गर्ने तयारी रहेको थिएटरले जनाएको छ। निर्देशकहरूले नाटकका कथाबारे केही समयपछि सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।
नयाँ पुस्तालाई अवसर दिदै यस पटक प्रस्तुति शैली, निर्देशक चयन र आर्थिक संरचनामा विशेष परिवर्तन गर्ने निर्णय गरेको थिएटरका संस्थापक अभिनेता दयाहाङ राईले बताए। उनले निर्देशक र कलाकारलाई विशेष प्राथमिकता दिने नीति बनाएकोसमेत उल्लेख गरे।
मण्डलाको यात्रामा चुनौतीहरू धेरै भएको भन्दै उनले नाटकको टिकट दरमा केही परिवर्तन गरिएको बताए। ‘यसपटक थिएटर स्पेसको भाडा वृद्धिले आर्थिक भार थपिएको छ। यो वर्ष भाडा दर पनि बढिसक्यो’, राईले भने ‘आर्थिक रूपमा थिएटरलाई भार नपरोस् भनेर टिकट मूल्यमा फेरबदल गरेका छाैँ।’
उनका अनुसार अब एउटा नाटक चार सातासम्म मञ्चन गर्न पाइनेछ। पहिलो दुई साताको टिकट दर पुरानै (विद्यार्थीको लागि तीन सय र अन्यका लागि पाँच सय) कायम रहनेछ। तेस्रो र चौथो सातामा क्रमशः विद्यार्थीका लागि पाँच सय र अन्य दर्शकका लागि एक हजार तोकिएको छ।
मण्डलाले यस सिजनमा मञ्चन हुने नाटकहरूलाई हजार रुपैयाँ बराबरको अनुभव दिने नाटक बनाउन निर्देशक, कलाकार र प्राविधिक टोलीलाई थप जिम्मेवारी दिएको अभिनेता राईले बताए।
मण्डलाका सह-संस्थापक सोमनाथ खनालका अनुसार गत वर्षको सिजनमा सात नाटक गर्ने घोषणा भएको र पाँच नाटकमात्र मञ्चन भएको थियो। त्यसमध्ये ‘हरि हजुरबा’ नामक नाटकले सर्वाधिक लोकप्रियता कमायाे। यो नाटक ४ हजार २ सय ५९ दर्शकले हेरेकाे र मण्डलाको आर्थिक संकट हटाएको थियो। तर, अन्य नाटकले अपेक्षित दर्शक नपाउँदै घाटामा गएको खनालले बताए।
गत सिजनमा ‘हरि हजुरबा’सहित ‘अन्धवेग’, ‘मेषी दण्ड’, ढुकढुकी ७२ मेगाहर्ज, ‘उम्लिँदो खरानी र लेम्लेमा’ मञ्चन गरिएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![नारी अस्तित्वका पक्षमा नाटक ‘सिरुमारानी’ [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/09/sirumarani1.jpg) 
                                              
                                              
                                              
                                             ![मण्डलामा मञ्चनरत नाटक ‘हराएको कुकुर’ [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/07/haraeko-kukur1.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 