दशरथचन्दका विद्यालयमा आयुर्वेद शिक्षाको पठनपाठन प्रारम्भ

हिमाल प्रेस २ जेठ २०८२ ११:०४ | Friday, May 16, 2025
दशरथचन्दका विद्यालयमा आयुर्वेद शिक्षाको पठनपाठन प्रारम्भ

बैतडी- दशरथचन्द नगरपालिकाले आफ्नो कार्यक्षेत्रका पाँचवटा माध्यमिक विद्यालयमा आयुर्वेद शिक्षाको पठनपाठन प्रारम्भ गरेको छ। मणिलेक मावि गुरुखोला, निङ्गलाशैनी मावि देहीमाण्डौँ, वीरेन्द्र मावि शाहीलेक, कुलौन मावि खतेडी र केदार नागार्जुन मावि बग्लेखानमा आयुर्वेद पढाउन थालिएको हो।

यो वर्ष आयुर्वेद पढाउन पाँचवटा विद्यालय छनोट गरिएका र ती विद्यालयका विद्यार्थीलाई आयुर्वेदको महत्वका बारेमा जानकारी दिने गरिएको नगरपालिकाको आयुर्वेद शाखाका प्रमुख नरेन्द्र कलौनीले बताए। उनले भने,‘कार्यक्रम सञ्चालन भएका विद्यालयका विद्यार्थीलाई जडीबुटी र तिनीहरुको प्रयोगका बारेमा जानकारी दिने गरिन्छ। स्थानीयस्तरमा पाइने जडीबुटीको संरक्षणबारे पनि बालबालिकालाई प्रशिक्षण दिने गरिएको छ।’

यसअघि पाँचवटै विद्यालय आयुर्वेद तथा योगका शिक्षकलाई तालिम दिइएको थियो। उनीहरूबाट ती विद्यालयमा आयुर्वेद र योगका नियमित कक्षा सञ्चालन हुँदै आएका छन्। विद्यालयमा आयुर्वेद तथा योग शिक्षाअन्तर्गत बालबालिकालाई विभिन्न योगासनका बारेमा समेत जानकारी गराउने गरिएको छ। यसले स्वस्थ जीवनशैली अपनाउन सहज हुने अपेक्षा गरिएको छ।

योग गर्नाले विभिन्न रोगबाट मुक्ति पाइने भएकाले विद्यार्थीलाई आयुर्वेद कार्यक्रममार्फत जानकारी दिने गरिएको आयुर्वेद औषधालय मुस्याचौरका प्रमुख राजेन्द्रकान्त दयालले बताए। विद्यार्थीलाई योग शिक्षाको महत्वका विषयमा जानकारी गराइएको छ। उनले भने, ‘योग र आयुर्वेद शिक्षा अन्य विद्यालयमा विस्तार गर्नसके योगका बारेमा प्रचारप्रसार हुनेछ।’

आयुर्वेदिक औषधी, योग र यसले जीवनमा पार्ने सकारात्मक प्रभावका बारेमा ज्ञान दिन विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताइन्।

प्रकाशित: २ जेठ २०८२ ११:०४ | Friday, May 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast