पौडेलले सम्हाले गभर्नरको पदभार, प्राथमिकतामा सुपरीवेक्षण, कर्जाको गुणस्तर र वित्तीय अनुशासन

हिमाल प्रेस ७ जेठ २०८२ १३:०१ | Wednesday, May 21, 2025
पौडेलले सम्हाले गभर्नरको पदभार, प्राथमिकतामा सुपरीवेक्षण, कर्जाको गुणस्तर र वित्तीय अनुशासन फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन्। बालुवाटारस्थित बैंकको कार्यालयमा बुधबार पदभार गर्दै उनले बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताए।

उनले भने, ‘हामीले नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षण पनि बढाउनुपर्छ। त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ।’ सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अवलम्बन गर्ने पनि गभर्नर डा. पौडेलले बताए।

राष्ट्र बैंकका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उनले बताए। राष्ट्र बैंकको स्वायत्तता कायम गर्न राष्ट्र बैंक ऐनअनुसार काम गर्ने पनि गभर्नर डा.पौडेलको भनाइ छ।

गभर्नर पौडेलले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोहीअनुरुप मौद्रिक नीति तर्जुमा गर्ने बताए। यसैगरी उनले मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन सबैसँग समन्वय गरेरै अघि बढ्ने पनि बताए। पौडेलले बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा आन्तरिक विषय भएको बताए।

पदभारपछि गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षरसमेत गरेका छन्। सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो।

डा.पौडेलले बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग गभर्नर पदको तथा गोपनीयताको शपथ लिएका थिए। त्यसलगत्तै उनी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गर्न अर्थ मन्त्रालय पुगेका थिए।

प्रकाशित: ७ जेठ २०८२ १३:०१ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast