 रोहित शर्मा
                             रोहित शर्मा
                                            काठमाडौँ– भारतीय ब्याटर रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। रोहितले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सन्यास लिने जानकारी दिएका हुन्।
टेस्ट क्रिकेटबाट सन्यास लिए पनि उनले एकदिवसीय क्रिकेटलाई भने निरन्तरता दिनेछन्।
रोहितले लेखेका छन्,‘म केवल यति भन्न चाहन्छु कि म टेस्ट क्रिकेटबाट सन्यास लिइरहेको छु, सेतो जर्सीमा आफ्नो देशको प्रतिनिधित्व गर्नु मेरो लागि सम्मानको विषय थियो।’
यतिका वर्षसम्म भेटेको माया र समर्थनका लागि उनले समर्थक र शुभचिन्तकहरूलाई धन्यवाद दिएका छन्।
रोहितले भनेका छन्,‘यतिका वर्षसम्म पाएको माया र समर्थनका लागि तपाईँ सबैलाई धन्यवाद। एकदिवसीय क्रिकेटमा भारतका लागि खेल्न जारी राख्ने छु।’
रोहितले टी–२० क्रिकेटबाट यसअघि नै सन्यास लिइसकेका छन्। टी–२० विश्वकप २०२४ जितेलगत्तै उनले सन्यासको घोषणा गरेका थिए।
रोहितले टेस्ट क्रिकेटमा ६७ टेस्ट म्याचको ११६ इनिङमा ४०.५७ को औसतले ४ हजार ३०१ रन बनाएका छन्, जसमा १२ शतक र १८ अर्धशतक सामेल छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 