 
                             
                                            जाजरकोट – जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–३ मुल्साममा अज्ञात रोगको प्रकोपले दुई सयभन्दा बढी भेडा मरेका छन्।
भेडा एकपछि अर्को गर्दै मर्न थालेपछि किसान चिन्तित र निराश बनेका छन्। रोग पत्ता नलाग्दा उपचार सम्भव नभएको भन्दै स्थानीयले गुनासो गरेका छन्।
वडाध्यक्ष रामबहादुर सिंहका अनुसार उपचारमा स्थानीय पशु स्वास्थ्यकर्मीहरू खटिएका छन्। ‘पखाला लाग्ने र धमाधम मर्ने गर्छन्, अहिले हामी जनप्रतिनिधि र स्थानीय पशु स्वास्थ्यकर्मी उपचारमा खटिएका छौँ,’ उनले भने, ‘तर मर्ने दर भने रोकिएको छैन, अधिकांश किसानका भेडा मरेका छन्।’
पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कपिल उपाध्यायले भेडाको स्वाब, रगत, आद्राको भाग सुर्खेत ल्याबमा पठाएको बताए। रिपोर्ट नआउन्जेल कसरी कुन रोगको उपचार गर्ने भन्ने समस्या भएको प्रमुख उपाध्यायले बताए। उपचारमा खटिएका एक पशु स्वास्थ्यकर्मीले भने, ‘यहाँ पर्याप्त औषधि पनि छैन, जिल्लाबाट खासै चासो दिएको देखिँदैन्, हामीले मात्रै उपचार सम्भव पनि छैन।’
पशु अस्पताल तथा पशु सेवा कार्यालयले केही दिनअघि डाक्टरसहितको टोली पठाएर स्वाब संकलन गरे पनि त्यसपछि जनशक्ति खटाएको देखिँदैन्। भेँडा मर्न थालेपछि किसानहरूमा निराशा छाएको छ। कृषिमा निर्भर स्थानीय किसानका लागि भेडा आम्दानीको मुख्य स्रोत हो।
सयौँको संख्यामा भेडा मरेपछि उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 