‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक

हिमाल प्रेस १३ जेठ २०८२ १७:४९ | Tuesday, May 27, 2025
‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक

काठमाडौँ- फिल्म ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्देशक सिमोश सुनुवारले नेपालको ग्रामीण समुदायमा प्रचलित कथावस्तुमा आधारित भई ‘जन्ते बाख्रो’ फिल्म तयार गरेका हुन्। उक्त फिल्मको ट्रेलर सार्वजनिक गर्दै विवाहमा बेहुलाका तर्फबाट जन्ती गएका पाहुनालाई बेहुली पक्षले बारी वा खुला ठाउँमा खुवाउने भोज संस्कारलाई फिल्ममा प्रस्तुत गरिएको निर्देशक सुनुवारले बताए।

‘भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने यो मौलिक परम्परा अहिले गाउँघरबाट हराउँदै गएको छ। लोप हुन लागेको यही सुन्दर र जीवन्त परम्परालाई ‘जन्ते बाख्रो’मार्फत दृश्यमा दस्तावेजीकरण गर्ने उद्देश्यसहित फिल्म तयार पारेको छु। ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर फिल्मको विषयवस्तु अगाडि बढेको छ। यसमा अन्य फिल्म झैँ दर्शकले प्रशस्तै मनोरञ्जन प्राप्त गर्नुहुने विश्वास लिएको छु,’ उनले भने।

सो फिल्ममा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गरेका छन्।

लेखक प्रदीप भारद्वाजले कथा, पटकथा र संवाद लेख्नुभएको उक्त फिल्मलाई सन्तोष गौतमले निर्माण गरेका हुन्। लेखक भारद्वाजले नेपाली फिल्ममा मनोरञ्जनसँगै संस्कृति र परम्परालाई जोड्ने माध्यम फिल्म ‘जन्ते बाख्रो’ बनेको बताए। ‘हामीले फिल्ममार्फत आफ्नो कला, संस्कृति र परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउनुपर्छ। सोही कारण मैले ती तथ्यलाई समेटेर फिल्मका लागि कथावस्तु तयार गर्ने प्रयास गरेको छु। यो हामी फिल्मकर्मीको कर्तव्य पनि हो’, लेखक भारद्वाजले भने।

उनले ट्रेलरअगाडि सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाएको जानकारी दिए। काठमाडौँ उपत्यकाको काठ क्षेत्रसहित आसपासका गाउँवस्तीमा छायांकन गरिएको सो फिल्म आगामी जेठ २३ गतेदेखि प्रदर्शन हुने बताइएको छ।

प्रकाशित: १३ जेठ २०८२ १७:४९ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast