गृहमन्त्री भन्छन् – मविरूद्ध झुटा प्रचारबाजी भयो, आरोप प्रमाणित भए पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु

हिमाल प्रेस १० जेठ २०८२ २०:१३ | Saturday, May 24, 2025
गृहमन्त्री भन्छन् – मविरूद्ध झुटा प्रचारबाजी भयो, आरोप प्रमाणित भए पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु गृहमन्त्री रमेश लेखक

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरूद्ध नियोजित रूपले झुटा प्रचारबाजी भइरहेको बताएका छन्।

शनिबार साँझ गृह मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूविरूद्ध नियोजित रूपले, राजनीतिक रूपले षडयन्त्रपूर्ण ढंगबाट झुटा प्रचारबाजी भइरहेको बताएका हुन्।

आफूमाथि लगाइएको आरोप प्रमाणित भए पदबाट मात्र होइन राजनीतिबाटै राजीनामा दिने उनले उल्लेख गरे।

‘म सबैलाई के आग्रह गर्न चाहन्छु भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको भिजिट भिसाको विषयमात्रै होइन, मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदि एउटा पनि आर्थिक अनियमितता गरेको प्रमाणित भयो भने पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु,’ लेखकले भने।

उनले गृह मन्त्रालय मातहतका कुनै कर्मचारीमाथि अनुसन्धान हुँदैमा पदबाट राजीनामा दिन आवश्यक नभएको जिकिर गरे।

‘गृह मन्त्रालय यत्रो ठूलो मन्त्रायल छ, यसमा हजारमा होइन लाखमा कर्मचारी छन्, लाखौँ लाख कर्मचारीमा संवैधानिक निकाय, अनुसन्धान गर्नका लागि सक्षम निकायले कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरू गर्न सक्छ,’ उनले भने,‘अनि कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरू हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो? के त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ? आजसम्म त्यस्तो भएको छ?’

गृहमन्त्री लेखकले आफूविरूद्ध झुटा प्रचारबाजी गरेर षडयन्त्र गर्ने व्यक्ति खोज्दै जाँदा भेटिने पनि उल्लेख गरे। उनले यो प्रकरणमा थप कुरा प्रतिनिधिसभामा प्रस्ट पार्ने बताए।

‘षडयन्त्रका पछाडि रहेका व्यक्ति पनि खोज्दै जाँदा भेटिन्छ,’ उनले भने,‘यो विषयमा विस्तृत कुरा प्रतिनिधिसभामा गर्छु। विस्तृत कुरा गर्न जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा बोल्न समय माग गरिसकेको छु।’

प्रकाशित: १० जेठ २०८२ २०:१३ | Saturday, May 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast