गणतन्त्र दिवसमा प्रधानमन्त्री ओलीले गरे राजावादीको आलोचना

हिमाल प्रेस १५ जेठ २०८२ १२:२६ | Thursday, May 29, 2025
गणतन्त्र दिवसमा प्रधानमन्त्री ओलीले गरे राजावादीको आलोचना प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतावादीहरुले आजको पारदर्शिता फोहोर साबित गर्ने दुष्प्रयास गरिरहेको बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा मूल समारोह समितिले बिहीबार काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरंकुशतावादीहरुले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शिता फोहोर साबित गर्ने दुष्प्रयास गरिरहेको बताएका हुन्।

ओलीले हुकुमी आदेश तामेली मात्रै गर्न अभिशप्त समाज गणतन्त्र आएपछि निर्बाध रुपमा आफ्नो मत व्यक्त गर्न र राज्य सञ्चालनका कुनै पनि घटनालाई ‘जज’ गर्न पाउने ठाउँमा उभिएको बताए। प्रधानमन्त्री ओलीले राजतन्त्रको अवस्थामा रहेको गरिबी, असमानता, अविकास र पछौटेपनबाट अहिले मुलुक निकै अगाडि बढिसकेको दाबी गरे।

उहाले गरिबी, बेरोजगारी, भ्रष्टाचारलगायतका चुनौती सामना गर्न हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर नभई लोकतान्त्रिक प्रणालीमा चुनावमार्फत इमानदार राजनीतिक शक्ति छनोट गरेर मात्र सामना गर्न सकिने धारणा बताए।

जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात वंशमा केन्द्रित गर्न खोज्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले अढाई सय वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछौटे अवस्थामा पुर्‍याउने एउटा वंशको विशेषाधिकार कुनै अर्थमा पनि ठूलो हुन नसक्ने बताए।

प्रधानमन्त्री ओलीले गणतन्त्र कुनै दलको स्वामित्व नभई यसको मालिक जनता भएकाले जनताको अधिकार र उत्तरदायित्वको संयोजन गर्न सक्दा मात्र गणतन्त्रले नेपाललाई विकास, समृद्धि र सुशासनको अत्युत्कर्षमा पुर्‍याउन सक्ने बताए।

प्रकाशित: १५ जेठ २०८२ १२:२६ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast