 
                             
                                            काठमाडौँ- ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको कथामा फिल्म निर्माण गरिएको छ। निर्देशक दीपेन्द्रकुमार खनालले उनको कथामा ‘के घर के डेरा घर नं २’ निर्माण गरेका छन्।
निर्देशक खनालले केही वर्ष अघिदेखि बुद्धिसागरलाई फिल्ममा कथाकारका रूपमा ल्याउन प्रयास गरेका थिए। सो प्रयासलाई सार्थकता दिँदै उनको कथामा फिल्म निर्माण गरिएको निर्देशक खनाल बताए। ‘साहित्यकारका कथालाई पर्दामा ल्याउन के-कस्ता चुनौती रहेछन् त’, भन्ने प्रश्नमा खनाल भन्छन्, ‘कथाको मर्म बुझ्ने निर्देशक नपरेमा साहित्यकारको कथाले न्याय पाउँदैन। बुद्धिसागरजीले लेख्नुभएको पटकथामा हरेक जानकारीलाई सुक्ष्म तरिकाले प्रस्तुत गरिएको छ। तर, हामी निर्देशकले एउटा सीमित समय भित्र कथा भनिसक्नुपर्ने हुन्छ। त्यसकारण कथाको मर्म प्रस्तुत हुनेगरी दृश्यमा उतार्ने खुबी निर्देशकमा हुनु जरूरी छ।’
उनले बुद्धिसागरको पटकथालाई फिल्मी शैलीमा रूपान्तरण गरेर उनलाई जानकारी दिएपछि काम सुरू गरेको बताए। साहित्यकारले लेख्दा सामान्य कथा जस्तो सुन्दर हुन्छ, फिल्ममा त्यस्तै सुन्दर तवरले प्रस्तुति गरिएको निर्देशक खनालको दाबी छ।
निर्देशक खनालले यस अगाडि ‘के घर के डेरा’ निर्देशन गरेका थिए। उस्तै नाम भए पनि यसपटक कथा र परिवेश फरक रहेको उनले बताए। उनकाअनुसार ‘के घर के डेरा’ लाई ‘कमेडी’ शैलीमा प्रस्तुत गरिएको थियो भने यसपटक ‘के घर के डेरा घर नं २’ मा ‘इमोसनल’ शैली प्रयोग गरिएको छ।
‘मैले मनछुने फिल्म तयार गरेजस्तो लागेको छ। किनकी यो घरबेटी, डेरावालसँगै सहरमा हुनेहरूको कथा हो। यसको सुन्दर पक्ष भनेकै फिल्ममा रहेका पात्रहरू एकआपसमा जोडिएका छन्। उनीहरूले काठमाडौँ सहरमा देखिने हरेक वर्गलाई प्रतिनिधित्व गरेको छन् भन्ने लागेको छ’, निर्देशक खनालले भने।
अभिनेता खगेन्द्र लामिछानेले निर्देशक खनालले झैँ पटकथाको सुन्दरता पात्रहरूको उदयसँगै अवतरण रहेको बताए। आफैँ लेखक भएकाले अभिनेता लामिछाने लेखनका क्रममा आइपर्ने कठिनाइसँग जानकार छन्।
‘पात्रलाई फिल्ममा जसरी सुरु गरिन्छ, त्यसको अन्त्य धेरैलाई मन पर्ने किसिमको बनाउन निकै कठिन हुन्छ। म आफैँ लेखक भएकाले यस फिल्मको पटकथामा आएका सम्पूर्ण पात्र अर्थपूर्ण हुनुका साथै एकआपसमा जोडिएको छ र ती यत्तिकै हराउँदैनन्’, उनले भने।
अभिनेताा लामिछानेले ‘अर्गानिक’ भनेर अघोषित रूपमा बुझ्ने गरिएको ग्रामीण परिवेशसम्बन्धी बुझाइमा परिवर्तन ल्याउनुपर्नेमा जोड र्दिए। नेपालका मौलिक विषय गाउँ मात्र नभई सहरकै पनि ‘अर्गानिक’ हुने उनको बुझाइ छ।
‘हामीले गाउँका कथालाई मात्र मौलिक वा ‘अर्गानिक’ भनेर सहरका कथालाई नजरअन्दाज गरिरहेका छौँ। हामीले यो सोच बदल्नुपर्छ। किनकी गाउँभन्दा सहरका गरिब दयनीय हुन्छन्। उनीहरूले गाउँ जस्तो सहजै जीविकोपार्जन गर्न सक्दैनन्। त्यसकारण हामीले ‘अर्गानिक’को परिभाषालाई बृहत् बनाउनुपर्छ’, अभिनेता लामिछानेले भने।
फिल्ममा अभिनेत्री केकी अधिकारी डेरावालको भूमिकामा छिन्। अभिनेत्री अधिकारीले फिल्ममा अन्य पक्षको कथा पनि देख्न पाइने बताए। ‘डेरावाल वा घरबेटीको मात्र कथा होइन। फिल्ममा रहेका पात्रहरू कसैको आफ्नै घर छ त, कसैको डेरा छ, कोहीसँग दुवै छैन। त्यसकारण यो कथालाई घरबेटी र डेरावालमार्फत प्रस्तुत गरिए तापनि यो समग्रमा सफलताका लागि मेहनत गरिरहेका सम्पूर्णको कथा हो’, उनले भने।
फिल्ममा आर्यन सिग्देल, उपासनासिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गरेका छन्। फिल्म आगामी जेठ २ देखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ। (राससबाट)

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![यस्ताे छ ‘हरिबहादुरको जुत्ता’ काे ट्रेलर [भिडियाेसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/haribahadurko-jutta.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 