कान्स फिल्म फेस्टिभलमा स्टल राख्दै ‘एक्लो’ टिम

हिमाल प्रेस २८ वैशाख २०८२ १५:२३ | Sunday, May 11, 2025
कान्स फिल्म फेस्टिभलमा स्टल राख्दै ‘एक्लो’ टिम

काठमाडौँ- फ्रान्समा हुने कान्स फिल्म फेस्टिभलको ७२ औं संस्करणमा नेपाली फिल्म ‘एक्लो’  सहभागि हुँदैछ।

‘एक्लो’ टिमले ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा स्टलसमेत राख्न लागेका हुन्। निर्माण टिमका अनुसार सम्भवतः नेपाली फिल्मलाई पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गर्न लागेको हो।

स्टलमा नेपालको झण्डा राख्ने तयारी छ। निर्देशक प्रदीप शाही स्वयं प्रोड्युर्स नेटवर्कमा सहभागी हुँदैछन्। ‘हामीले यस वर्ष कान्समार्फत नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौं।’ निर्देशक शाहीले भने, ‘अन्तराष्ट्रिय मार्केटमा स्टल राख्ने पहिलो नेपाली फिल्म हो।’ यसअघि निर्देशक शाही कान्स प्रोड्युसर्स नेटवर्कमा छनोटसमेत भइसकेका छन्।

कान्स सुरु हुनुअघि नै फिल्मबारे ७ अन्तर्राष्ट्रिय वितरकले फिल्मबारे रुचि राखेको निर्देशक शाहीले बताए। उनका अनुसार, वेबसाइटमा जानकारी हेरेर ४ अमेरिकी, २ जापानी र एक भारतीय वितरण कम्पनीले प्रस्ताव राखेका छन्।

प्रड्युसर्स नेटवर्कमा आफूले विश्व फिल्म निकायका प्रतिनिधि, निर्मातासँग भेट्नेदेखि लिएर ‘एक्लो’लाई पिच गर्ने आफ्नो तयारी रहेको उनले बताए। ‘कान्स मार्केट हाम्रो फिल्म एक्लोमा मात्र सीमित हुने छैन। भविष्यमा हुन सक्ने सहकार्य र को-प्रोडक्सनको कुरा पनि हुन्छ’ उनले भने।

कान्स मार्केटमा फिल्मका निर्माता रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ र उत्सव विष्ट सहभागी हुनेछन्। फिल्मकी कोपरेटिभ डिरेक्टर रिश्ता कार्की बजारीकरण प्रमुखको रुपमा सहभागी हुनेछिन्। निर्माताले महंगो पैसा तिरेरै कान्स मार्केटमा स्टल राख्दैछन्।

फेस्टिभल १३ देखि २४ मे सम्म फेस्टिभल फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा चल्नेछ।

साइन्स फिक्सन जनरामा बनेको फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपालीलगायत कलाकारको अभिनय छ। बेलायती कलाकार जेमी बेकन पनि महत्वपूर्ण भूमिकामा छन्। फिल्ममा खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा प्रस्तुत गरिएको छ।

फिल्म आगामी तिहारमा हलमा प्रदर्शन गर्ने टिमको तयारी छ।

प्रकाशित: २८ वैशाख २०८२ १५:२३ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast