कर्मचारीको माग सम्बोधन गर्नेगरी विधेयक ल्याइने

हिमाल प्रेस १६ जेठ २०८२ ६:०० | Friday, May 30, 2025
कर्मचारीको माग सम्बोधन गर्नेगरी विधेयक ल्याइने

सुर्खेत- कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन हुनेगरी विधेयक आउने बताएका छन्।

प्रदेश सरकारले ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभा दर्ता गरी फिर्ता लिएको बताउँदै प्रवक्ता शाहले प्रदेश निजामती कर्मचारी ऐनसँग मिलाउने गरी प्रदेशसभामा विधेयक दर्ता गराउने प्रक्रियामा रहेको जानकारी दिए। ‘स्थानीय तहका कर्मचारीको माग सम्बोधन हुनेगरी विधेयक सभामा दर्ता हुन्छ’, उनले भने,‘त्यही सदनबाट पारित गरिन्छ।’

सरकार स्थानीय तहका कर्मचारीको माग सम्बोधन गर्न लागिपरेकाले अब उनीहरूले आन्दोलन गर्न आवश्यक नरहेको उनको भनाइ छ।

यहाँका ७९ स्थानीय तहमा कार्यरत करिब तीन सय कर्मचारीले ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ लाई संशोधन गर्न बनेको विधेयकसमेतविभेदकारी भएकाले त्यसलाई सच्याउन प्रदेश सरकारसहित प्रदेशसभामा निरन्तर दबाब दिँदै आएको बताएका छन्।

स्थानीय तहका कर्मचारीले बिहीबार पनि प्रदेशसभामा धर्ना दिएका थिए। उनीहरूको आन्दोलन नरोकिँदा भने चालु आर्थिक वर्षको अन्त्यमा कामको चटारो बढिरहँदा स्थानीय तहमा भने कर्मचारीको अभाव भएको छ।

यसले योजना तथा बजेट कार्यान्वयनमा निकै ठूलो चुनौती बढेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्गबहादुर विश्वकर्माले बताए। उनका अनुसार कर्मचारीका मागलाई यथाशीघ्र सम्बोधन गरी काम फर्कने वातावरण बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ।

प्रकाशित: १६ जेठ २०८२ ६:०० | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast