ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई ८६ अर्ब १ करोड बजेट, मेट्रोरेल सम्भाव्यता अध्ययन गरिने

हिमाल प्रेस १५ जेठ २०८२ १७:०१
ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई ८६ अर्ब १ करोड बजेट, मेट्रोरेल सम्भाव्यता अध्ययन गरिने संसद्मा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल।

काठमाडौँ-  सरकारले ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन गरेको छ। बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो जानकारी दिएका हुन्।

उनले आगामी आर्थिक वर्षमा विद्युतको कुल जडित क्षमता ४ हजार ८ सय मेगावाट बनाइने बताए। इंस्टल्ड क्षमता चार हजार ८ सय मेगावाट पु¥याइने बताउँदै उनले आगामी आर्थिक वर्षमा ९४२ मेगावाट विद्युत थपिने जानकारी दिए।

सरकारले नागढुंगा र सिद्धबाबा सुरुङका लागि २ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ। पोड वेको सम्भाव्यता अध्ययनका लागि प्रोत्साहन गरिने बताउँदै अर्थमन्त्री पौडेलले सिद्धार्थ राजमार्गको स्तरोन्नति गरिने उल्लेख गरे।

त्यस्तै पुष्पलाल मध्यपहाडी राजमार्गको रेखांकन परिमार्जन गरिने जानकारी दिँदै उनले आँबुखैरेनी–पोखरा सडक स्तरोन्नति गर्न आठ अर्ब ५२ करोड बजेट विनियोजन गरिएको बताए।

सरकारले कर्णाली करिडोरका लागि १ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ भने गल्छी–रसुवागढी सडकका लागि २ अर्ब ५६ करोड रुपैयाँ छुट्याएको छ।

अर्थमन्त्री पौडेलले ताल्चा–रारा सडक कालोपत्रे गरिने बताए। सार्वजनिक यातायात प्राधिकरण स्थापना गरिने बताउँदै उनले मेट्रोरेल, मोनोरेलको सम्भाव्यता अध्ययन गरिने जानकारी दिए।

प्रकाशित: १५ जेठ २०८२ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast