 
                             
                                            काठमाडौँ- ६ दशकदेखि चियारोपण, प्रसोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी रामकुमार राठीलाई सरकारले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।
उद्योगी राठीलाई २९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यो अवार्ड प्रदान गरेको हो। कृषि तथा पशुपन्छी विकासमन्त्री एवं बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे।
राठी नेपालका पहिलो टी–टेस्टर (चिया परीक्षक) हुन्। उनले टेस्टिङ प्लान्टेसन एन्ड म्यानुफ्याक्चरिङमा स्नातकोत्तर गरेका छन्। २५ वर्षको उमेरमा चीन गएका बेला त्यहााको टी टेस्टिङ हेरेपछि उनी यस क्षेत्रतर्फ आकर्षित भएका थिए।
चीनबाट फर्केलगत्तै ईलाम टी गार्डेनमा पुगेका उनी त्यहाँ प्रबन्धकका रूपमा कार्यरत बेलायती नागरिक प्रोसरबाट चियाबारे आधारभूत ज्ञान हासिल गरे।
सन् १९६८ देखि १०७० सम्म डीसी घोष एन्ड कम्पनी प्रालि कोलकत्ताको एक व्यापारिक प्रतिष्ठानमा टी टेस्टर तालिम लिएर अभ्यास गरी उनी नेपाल फर्किएका थिए।
उनले १९७२ मा आरके ओभरसिज कम्पनी स्थापना गरेर चियाको निर्यात गर्न थाले। त्यतिबेला उनी ईलामको चिया बजारीकरण गर्न जर्मनी, डेनमार्क, स्विडेन, हल्याण्ड, बेलायत, फ्रान्स, स्विटजरल्याण्ड, अस्ट्रिया, इजिप्ट र इरानसम्म पुगेका थिए। त्यसपछि उनको निर्यात व्यापारमा गुणात्मक वृद्धि हुन थाल्यो।
वि.सं. २०३३ सालमा हिमाल चिया उद्यो प्रालिको स्थापना भयो। वि.सं. २०४६ सालमा पहाडी भेगमा नेपाल अधिराज्य भरिमा नीजि क्षेत्रबाट चिया उत्पादन गर्ने पहिलो कारखाना ईलाम जिल्लाको मालुममा हिमालयन रेन्ज चिया उद्योग प्रालिको स्थापना गर्न सफल भएका उनले २०६३ मा झापाको हल्दीबारीमा सिटिसी चिया उत्पादन गर्न सुनकोशी चिया उद्योगको स्थापना गरे। त्यसपछि उनले २०७२ मा ईलामको शान्तिडाँडामा अर्गानिक चिया उत्पादन गर्ने हिमालयन भ्याली प्रालि उद्योगको स्थापना गरे।
हाल उनले ‘राकुरा’ ब्रान्डमा सिटिसी र अर्गानिक चियान उत्पादन, निर्यात गर्दै आएका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 