 
                             
                                            झापा- ‘जब महिलाले कुनै सीप सिक्छिन्,उनी मात्र होइन, उनको परिवार र समाज आत्मनिर्भर बन्छ,’ गोमा घिमिरे बराल यही भनाइको ज्वलन्त उदाहरण हुन्। दमक नगरपालिका–२ हिमालीटोलस्थित गरिमा सिलाइकटाइ तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकी उनले आफूसँगै थप पाँच जना महिलालाई रोजगारी दिएकी हुन्।
सामान्यतया महिलाले लगाउने सबै किसिमका कपडा सिलाइ हुने उक्त केन्द्रमा विद्यालयका झोला, पर्सलगायत सामान उत्पादन हुने गर्छ। दमक बजार, इलाम, पाँचथरलगायत स्थानमा ती सामग्रीको उच्च माग रहेको गोमा बताउँछिन्।
आफ्नै घरमा सटर निकालेर उद्यम गरेकी गोमाले ढाकाका उत्पादन ५० देखि एक हजार ५०० सम्ममा बिक्री गर्छिन्। बजारको माग उच्च रहेकाले कहिले काहीँ माग नै स्थगन गर्नुपरेको उनको भनाइ छ।
झन्डै १० वर्ष पहिले इलाममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सिलाइसम्बन्धी आधारभूत तालिम लिएकी गोमाले इलाममै चिनजानकै सिलाइ पसलमा काम गरी अनुभव गरिन्। काम गर्दै जाँदा घरेलुबाट उद्यमशीलतासम्बन्धी तालिम लिएपछि आफैँ उद्यम गर्नुपर्छ भन्ने उत्प्रेरणा जाग्यो पाँच हजारमा पुरानो सिलाइ मेसिन खरिद गरी व्यवसाय सुरु गरिन्।
छरछिमेकका महिला दिदीबहिनिका कपडा सिलाइकटाइ गरी घरबाटै व्यावसाय सुरु गरेकी गोमाले चार वर्ष इलाममै बिताएकी थिइन्। २०७६ सालतिर गोमा परिवारसहित इलामबाट झापाको दमक बसाइ सरिन्। बसाइ सरेसँगै आफूले सिकेको सीप र व्यवसायसमेत निरन्तरता दिएकी गोमाले ढाकाका झोला तथा पर्सको राम्रो सम्भावना देखेपछि वडा कार्यालयबाट सञ्चालित १५ दिने ढाकासम्बन्धी तालिम लिइन्। साथै उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट दोस्रो तहको तालिमसमेत लिइन्। यो तालिमपश्चात उनको परिचय सिलाइसम्बन्धी प्रशिक्षकको रूपमा स्थापित भयो। अब उनले परिषद् तथा अन्य संस्थाका आधारभूत तह–१ का तालिममा प्रशिक्षण गर्न योग्य भइन्।
तालिम दिन जिल्लाका विभिन्न ठाउँमा जानुपर्ने तथा केन्द्रसमेतमा उत्पादनको उच्च माग रहेकोले दुवैतिर समय मिलाउन मुस्किल हुने गरेको गोमा बताउँछिन्। व्यावसायलाई उकास्न समय–समयमा घरेलुले गरेको प्रविधिमा अनुदान सहयोगले काम गर्न थप ऊर्जा प्राप्त हुँदै गएको गोमा सुनाउँछिन्।
विभिन्न सरकारी निकाय तथा विभिन्न संघसंस्थाबाट हुने यस्ता अनुदान सहयोगको उचित सदुपयोग गर्ने हो भने गाउँमै राम्रो रोजगारीको अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ। आफूले सञ्चालन गरेको केन्द्रले महिला दिदिबहिनीलाई सीप सिकाउने, आम्दानीको स्रोत प्रदान गर्ने र आत्मबल बढाउने काम गरेकोमा सन्तुष्टी मिल्ने गरेको गोमा बताउँछिन्। सिलाइ कटाइसँगै ग्रामेन्टसमेतको उद्ययोग दर्ता गरिसकेकाले विस्तारै विस्तारै व्यावसाय बढाउँदै लैजाने उनको योजना छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 