इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत, सार्वजनिक संस्थानमा ७ खर्बबढी लगानी

हिमाल प्रेस १५ जेठ २०८२ १५:०१ | Thursday, May 29, 2025
इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत, सार्वजनिक संस्थानमा ७ खर्बबढी लगानी सांकेतिक तस्बिर।

काठमाडौँ– इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ। बिहीबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ फागुन महिनासम्ममा इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको हो।

‘सूचना प्रविधिको पहुँच आम क्षेत्रमा पुगेको छ। तीन तहका सरकारमा ई–गभर्नेन्स प्रणाली विस्तार हुँदै गएको छ। ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सेवा स्थानीय तहका ६ हजार ५६६ वडा केन्द्रमा विस्तार भएको छ,’ मन्त्री पौडेलले भने, ‘डिजिटल टेलिभिजनको पहुँच ७२.० प्रतिशत घरधुरीमा पुगेको छ।’

त्यस्तै अर्थमन्त्री पौडेलले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०८२ पनि प्रतिनिधिसभामा पेस गरेका छन्।

सार्वजनिक संस्थानको आर्थिक वर्ष २०८०/८१ को समग्र अवस्था, उपलब्धि, सञ्चालनको चुनौती, सुधारका क्षेत्रलगायत विषय समेटेर सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको अर्थमन्त्री पौडेलले बताए।

नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालित छन्। तीमध्ये २० पूर्णसरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेको छ।

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति अघिल्लो आर्थिक वर्षको भन्दा दुई दशमलव २० प्रतिशतले वृद्धि भई २९ खर्ब १० अर्ब १७ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ।

सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा पाँच दशमलव ८६ प्रतिशतले वृद्धि भई सात खर्ब तीन अर्ब ९३ करोड पुगेको छ।

यसमध्ये शेयर लगानी तीन खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी तीन खर्ब ३९ अर्ब सात करोड रहेको छ।

आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय छ खर्ब ६० अर्ब १५ करोड पुगेको छ। आब २०७९/८० को तुलनामा शून्य दशमलव २२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११ दशमलव ५७ प्रतिशत रहेको छ।

सञ्चालनमा रहेका संस्थानमध्ये २८ नाफामा, १५ घाटामा र दुई वटा बन्द भएका छन्। आव २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२ दशमलव ८८ प्रतिशतले कम हो।

नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी तीन अर्ब ६३ करोड रहेको छ। नाफामा रहेका संस्थानको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ११ दशमलव ५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी अघिल्लो वर्षको तुलनामा आठ दशमलव ६५ प्रतिशतले बढेको छ।

सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९र८० मा १३ अर्ब ७५ करोड लाभांश प्राप्त भएकामा आर्थिक वर्ष २०८०/८१ मा आठ अर्ब ८३ करोड प्राप्त भएको देखिएको छ। कुल शेयर लगानीको तुलनामा लाभांश अनुपात आव २०८०/८१ मा दुई दशमलव चार प्रतिशत रहेको छ।

प्रकाशित: १५ जेठ २०८२ १५:०१ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast