 
                             
                                            डेरा रुजभेल्ट टापुमा, काम म्यानहट्टनमा। दैनिक प्रयोगका खाद्यसामग्री टापुभित्रै र पुलपारि एस्टोरियाको सानो बजार, सागपात किन्न चाइनिज स्टोर गर्दै प्रारम्भिक दिन बितिरहेका थिए। रुजभेल्ट टापुबाट म्यानहट्टन जान सजिलो र सहज थियो- अफिसको भ्यान, केबलकार र बस सुविधा सजिलै उपलब्ध थिए। तैपनि ४/५ महिनाको समय तालिकाअनुसार भएर बिताएपछि मलाई व्यस्त र कोलाहलपूर्ण त्यो संसारबाट केही दिन भए पनि कता जाऊँ कता जाऊँ भइरहन्थ्यो! त्यही बेला सान डियागोबाट मेरो बालसखा नारायणको फोन आयो।
उनले प्रस्ताव गरे- ‘म यो महिनाको अन्तमा १० दिन फुर्सदमा हुन्छु। यता आउने समय मिलाऊ न है! २’४ दिन छुट्टी मिलाएर आऊ।’
अनि त के चाहियो र? राति अबेरसम्म अनलाइनमा सस्तो टिकट खोज्ने काममा लागेँ। एक साता छुट्टी लिएर जाने तय भयो। एक्लै दिनभर घरमै बस्नुपर्ने बाध्यता भएकाले केही दिन भए पनि नयाँ ठाउँतिर घुम्न पाएकोमा श्रीमती पनि दंग थिइन्। आफू उतिबेला अनलाइन टिकट किन्न सिकारु भएकाले ढंग पुगेन। न्युयोर्ककै रैथाने भइसकेका अर्का नेपाली मित्रको सल्लाहमा डेल्टा एयरवेजको टिकट किनेको थिएँ। तत्काल किनेको कारणले हवाई टिकटको मूल्यले पनि ढाड सेकिदियो।
त्यस पटकको यात्रामा न्युयोर्कबाट बाहिर निस्कँदा साँच्चिकै रोमाञ्चक अनुभव भएको थियो। झन्डै काठमाडौँबाट यूरोप गए जति नै दूरीमा अमेरिकाको पूर्वी तट अर्थात् इस्टकोस्टमा रहेको एटलान्टिक महासागर र यसमा मिल्ने हड्सन नदीको किनाराबाट साढे ६ घण्टा उडेर हामी दुई यस विशाल देशको प्रशान्त महासागरको किनाराको पश्चिमी तट वेस्टकोस्टमा अवस्थित क्यालिफोर्निया राज्यमा जाँदै थियौँ।
खासै कुनै गन्तव्य त थिएन न त ठोस कार्यक्रम थियो मित्रभेटबाहेक! तैपनि एक साताको बसाइमा भ्याएसम्म लस एन्जेलसको सेरोफेरो, हलिउड, लस भेगस, सान डियागो, एरिजोनामा पर्ने केही पर्यटकीय क्षेत्रसहित आसपासका अन्य राज्यहरूको भ्रमण गर्ने सोच थियो।
लामो समयका लागि अमेरिका छिरेपछि पहिलो उडान डेल्टा एयरवेजको जहाजद्वारा हुनु पनि एउटा अर्को संयोग थियो। सन् १९९५ मा संयुक्त राष्ट्रसंघले आयोजना गरेको एउटा तालिममा अमेरिका आउँदा डेल्टाकै फ्लाइट १०७ बाट मैले जर्मनीको फ्रांकफर्टदेखि न्युयोर्कसम्मको भ्रमण गरेको थिएँ।
त्यही १०७ नम्बरको फ्लाइट न्युयोर्कमा करिब दुई घण्टा रोकिएर क्यालिफोर्निया राज्यको सान डियागोतर्फ उड्ने रहेछ। मलाई १४ वर्षपछिकोअर्को यात्राको अवसर मिलेको थियो। त्यही नम्बर रुटको डेल्टा एयरवेजमा!
नयाँ प्रविधिको विकासले गर्दा अचेल विमानस्थलमा ‘चेक इन’ गर्न लामो लाम लाग्नु पर्दैन हलुका र हातमा लिएर जान सकिने झोला मात्र हुँदा। ‘चेक इन लगेज’ को अतिरिक्त शुल्क तिर्नुपर्ने भएकाले हामीले न्यूनतम सामान राखेर १/१ वटा हाते झोला मात्र तयार पारेका थियौँ। छोटो भ्रमण अथवा सजिलोसँग हिँड्दा यही नै सस्तो र छिटोछरितो हुने भएकाले प्रायः यात्रीहरूले त्यस्तै गर्ने रहेछन्।
जहाजभित्र पसिसकेपछि सान डियागो जाने हवाईजहाजमा प्राविधिक गडबडी भएर एक घण्टा त भित्रै कुरियो। बल्लतल्ल उडेको जहाज पुरानो भएर होला आवाज बढी आएकोले चढेको एक घण्टामै कान बन्द भइहाल्यो। अचेल भाडा सस्तो दिने उडानमा केही सुविधा हुँदैन, यहाँसम्म कि एकपल्टभन्दा बढी पानी माग्यो भने पनि पैसा तिर्नुपर्छ। जहाजभित्र बजिरहेको गीतसंगीत सुन्नुपरे पनि दुई डलरको एयर फोन किन्नुपर्ने। त्यत्रो लामो उडान भएकोले भोक लाग्ला भनेर केही खानेकुरा बोकेका थियौँ।, त्यसैले निकै भरथेग भयो।
न्युयोर्कबाट सान डियागो उड्दासम्म नेपालबाट झन्डै युरोप पुगिन्छ। मनमा झलझली नेपाल वायुसेवाको अन्तर्राष्ट्रिय सेवाको सम्झना भयो। सित्तैँमा भनेजस्तो र भनेजति रक्सी र अनि विभिन्न खानाको परिकार पनि पाइन्थ्यो। एउटा न एउटा चिनजानको पाइलट वा क्रू सदस्य भएपछि त त्यत्तिले नपुगेर ओर्लने बेलामा २/४ वटा ‘मिनिएचर’ बोतल पनि झोलामा हालिदिने गर्थे। एक घण्टाको दिल्ली उडानमा मागेजति रक्सी नदिँदा एकाध एयरहोस्टेज बिचरीहरुले कति खप्की खाएको पनि देखिन्थ्यो। यताचाहिँ जे होस् त्यही सम्झेर मुख मिठ्याउने काम मात्र भो।
लामो दूरीको हवाईजहाज चढ्दा सँगैको सिटमा सहयात्री गतिला नहुँदा यात्रा ज्यादै कष्टप्रद हुन्छ। कहिलेकाहीँ त एकैछिनमा घुर्ने यात्रु पनि हुन्छन्। कोही मिजासिलो भएर गफ गर्न थाल्छन् अनि रमाइलो पनि हुन्छ। मलाई त धेरैजसो उडानमा सहयात्रीले सकसै दिएका छन्। धेरैजसो यात्रा आफ्नै भेगतिर भएकाले त्यत्ति सारो नयाँ अनुभव छैन।
एकपल्ट कराँचीबाट इस्लामाबाद एक्लै उड्दा ज्यानै पो जाने हो कि भन्ने डरले थर्थर हुनुपरेको थियो। सिट छान्ने मौका परेका बेलाम सधैँ छेउतिर रोज्छु। त्यस पटक मेरो सिट बीचमा परेको थियो। मलाई संकोच र छटपटी हुँदै थियो। तर जहाजभित्र पस्नासाथ एयर होस्टेजले त्यहाँ एउटै परिवारका सदस्यले बस्ने इच्छा गरे भनेर मलाई आफ्नो सिटबाट दुई सिट अगाडि लगेर राखिदिइन्।
आफ्नो सिट झ्यालतिर थियो बाँकी दुई सिट खाली थिए। साँचो अर्थमा केको खाली हुनु? अन्तिम समयमा एउटी बुर्कावाल र अर्की कुर्ता सुरुवाल अर्थात् सलवारकमिजको पहिरनमा दुई महिला आएर बसे। मलाई बेलाबेलामा उठ्नुपर्ने तर दुइटी नै धेरै समय मस्तनिद्रामा हुन्थे। केही नलागेर मैले ‘एक्सक्युज मी सिस्टर’ भनेर हातमै छोएर हल्लाउनुपर्ने अवस्था आयो।
त्यसपछि मेरो सिट पछाडि बसेका दुइटा मुस्तण्डे जुरुक्क उठेर कठालै समाउने स्थितिमा उभिए। पराई लोग्ने मानिसले छुन नहुने, त्यसमा पनि आफू परियो विदेशी र हिन्दू। समयमा एयर होस्टेज आएर उनीहरूलाई नथमथमाएको भए सानोतिनो गाईजात्रा नै पो हुन्थ्यो कि! पछि पो थाहा भयो- उनीहरू त आफ्नो सरकारको विरोध गर्दा मर्नुपर्ने भयले भागेर आएका इरानी शरणार्थी रहेछन् अन्तर्राष्ट्रिय शरणार्थी संगठनको सौजन्यमा नेपाल हुँदै अन्यत्र जान हिँडेका!
लामो यात्रामा प्रायः महिला सहयात्री पहिल्यै निदाउँछन्। निद्रामा ढल्किँदै आफ्नो कुममा टाउको राखेर घुर्न थाल्छन्। आँखा खुल्दा रसिला र मादक आँखाले ‘आइ एम सरी’ भनिदिन्छन्। त्यो क्षण सम्झेर एकपटक आङ सिरिंग भएको अनुभव गर्छु।
अहिलेको उडानमा पनि एउटा बिर्सनै नसकिने अनुभव सँगालेको छु।यसपल्ट डेल्टाको उडानमा म र मेरी श्रीमती झ्याल र माझको सिटमा परेका थियौँ। छेउको सिटमा एकजना अरबीजस्तै देखिने अधबैँसे थिए। हामीले पाएको पुछारतिर बस्न नचाहेकोले हामीलाई त्यो सिट परेको थियो। उतिखेर तयस्तो मान्छे पर्ला भन्ने के थाहा? जहाजभित्र चढेको २० मिनेटमा ती महाशय घुर्न थाले। ट्रान्जिट यात्री भएर युरोपबाट आउँदाको थकाइले होला त्यति छिटो मस्त निदाएको भन्ने सम्झेँ।
उडेको आधा घण्टापछि आफूलाई पिसाबले च्याप्यो। ५।६ पटक ‘एसक्युज मी’ भन्दा पनि उनले नसुनेपछि एयर होस्टेजलाई मद्दतका लागि बोलाएँ। उनको लामै प्रयासपछि महाशयको निद्रा खुल्यो, अनि झर्केजस्तो अनुहार लाएर उनी उठिदिए र म फुत्किन पाएँ। फर्कँदा हेर्छु त त्यही हाल! एयर होस्टेजको सहायता लिनुबाहेक अरू उपाय पनि देखिनँ।
‘ह्वाई डोन्ट यु जम्प् दिस टाइम्! ही लुक्स् टायर्ड्’ (फड्केर जाऊ न, ऊ निकै थाके जस्तो छ।) एयर होस्टेजको सल्लाहअनुसार म जसोतसो नाघेर आफ्नो सिटमा पुगेँ। तर अर्को समस्या कुन बेला आउने हो भन्ने चिन्तामा त छँदै थिएँ। श्रीमतीलाई अर्कै चिन्ता थियो- ‘म जानुपर्दा कसरी निस्कने होला! म त त्यसरी फड्किन पनि सक्दिनँ।’
साँच्चै त्यो ६ घण्टा ३० मिनेट असाध्यै कठिन अनुभव भयो हामी दुवैलाई। प्रत्येकपल्ट उठ्नुपर्दा ती महाशयले अमिलो मुख पार्थे। के गर्ने आफूलाई मधुमेह र प्रोस्टेट दुवैले सताएको कुरा भन्नु पनि भएन! पूरा उडानभरि उनले एक घुट्को पानी पिएको पनि देखिएन। हवाईजहाज चढ्दा थकाइ मेट्न पानी बढी नै पिउनुपर्छ भन्ने सामान्य कुरोलाई धोती लाइदिए उनले।
झन्डै एक घण्टा उनी अरबी लिपिको एउटा पुस्तक पढेर बसे। धार्मिक पाठ होला भनेर हामी दुवैले उसले पढिरहेका बेला उठ्ने आँट पनि गरेनौँ। तैपनि उनी खुसी थिएनन्। के गर्ने? मनमनै लाग्यो- विमानस्थलमा थाहा पाएको भए त त्यो सिट लिइने थिएन होला। जे भए पनि आँखाअगाडि हिजो इन्टरनेटमा हेरेको सान डियागो सहर घुम्न थाल्यो। त्यहाँ पुग्ने हतारे सबै तिक्तता बिर्सिदिएँ।
झमक्क साँझ पर्दा सान डियागो पुगियो। हवाईजहाजबाट ओर्लँदा एकपल्ट फेरि आफ्नो सहयात्रीको अनुहार हेरेँ। उसको अनुहार त्यत्तिकै अमिलो देखिन्थ्यो। अनि आफ्नो मोबाइलमा त्यहाँ रैथाने भइसकेको बालसखा नारायणको आवाज सुनेपछि त्यो अमिलो अनुहार बिर्सिदिएँ। जहाज निकै ठूलो भएकाले पार्किङ गर्ने ठाउँ नपाएर निकैबेर गुडिरह्यो। त्यतिन्जेल त्यो अमिलो अनुहारले पनि छोडेन।
हामी एयर होस्टेजले ओर्ल भन्नासाथ जर्याकजुरुक उठ्न आतुर थियौँ।
त्यो उडान मेरा लागि अविस्मरणीय भइदियो। यसबाट मैले एकैपल्ट दुइटा महत्त्वपूर्ण पाठ सिकेँ। पहिलो त सधैँ हवाईजहाज चढ्दा छेउको सिटमा नै बस्ने अनि दोस्रो सकभर स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी पानी कम पिउने।


 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 