अरुणको दु:ख : पक्ली पुल छैन, ‘फेरी’ बन्द [तस्बिरहरू]

हिमाल प्रेस ७ जेठ २०८२ १६:१९ | Wednesday, May 21, 2025
अरुणको दु:ख : पक्ली पुल छैन, ‘फेरी’ बन्द [तस्बिरहरू]

भोजपुर- भोजपुर र संखुवासभा जोड्ने अरुण नदीको सतीघाटमा पक्की पुल बन्न नसक्दा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन्। उत्तरी क्षेत्रबाट अन्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको सतीघाटमा पक्की पुल नहुँदा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका हुन्।

भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सीधा जोड्ने भोजपुरको षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९ सतीघाटस्थित अरुण नदीमा पक्की पुल नहुँदा वैकल्पिक उपायका सञ्चालन गरिएको फेरी (गाडी तार्ने डुंगा)  हुरी र पानीको बहाव बढेपछि बन्द हुने गरेको छ।

अहिले पनि पानीको बहाव बढेपछि पूर्ण रुपमा फेरी बन्द भएको छ। जसका कारण झोलुंगे पुलबाट नै आवतजावतसँगै पिठ्युँमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्था रहेको भोजपुर षडानन्द नगरपालिका-४ स्थित शारदा आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसुदन भट्टराईले बताए।

सो क्षेत्रबाट चुनाव जितेर पटक पटक राजनीतिक दलका नेता सत्तामा पुगे पनि सतीघाटमा पक्की पुल निर्माणमा चासो नदेखाउँदा आफूहरू समस्यामा परेको उनले बताए।

फेरी बन्द हुँदा सवारी साधनहरु नदीको किनारमा रोकिने गरेको छ। सतीघाटमा पक्की पुल निर्माणका लागि राज्यले ध्यान दिन नसकेको भोजपुरवासी कल्पना बस्नेतले बताइन्। उनले पुल नहुँदा बोकेर सामान ओसारपसार गर्नुपर्दा महँगी बढेको र भनेको समयमा पनि पुग्न नसकिएको गुनासो गरिन्।

अरुण नदीमा पुल नहुँदा सामानओसारका लागि भरियाको भर पर्नुपरेको छ। भरियाले प्रतिकिलो डेड रुपैयाका दरले भारी बोक्दै आएका छन्। फेरीले केही समय नदी तर्ने समस्या समाधान गरे पनि स्थायी समस्याको समाधान लागि पक्की पुल बन्नुपर्ने स्थानीयको माग छ।

प्रकाशित: ७ जेठ २०८२ १६:१९ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast