 
                             
                                            काठमाडौँ- फिल्म ‘महाभोज’ जेठ १५ देखि प्रदर्शन हुँदैछ। फिल्म सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित रहेको निर्माण टिमले जनाएको छ।
फिल्मका मुख्य कलाकार अभिनेता दयाहाङ राईका अनुसार फिल्मले आर्थिक क्रान्तिको सपना बोकेर स्थापना गरिएका सहकारी संस्थाहरू कसरी भ्रष्ट र व्यक्तिवादी स्वार्थको चपेटामा परे भन्ने यथार्थ चित्रण गर्छ।
उनी भन्छन्, ‘नेपालमा आर्थिक क्रान्ति ल्याउनको लागि सहकारी संस्थाहरूको स्थापना सुन्दर अभ्यास थियो। तर ती संस्थाको पहुँचमा रहेका व्यक्तिले सर्वसाधारणको पैसा अपचलन गर्दै आएका छन्, जुन समस्या अहिलेको मात्र होइन, धेरै पहिले देखिको हो।’
‘महाभोज’ कथानकमात्र नभएर एक प्रश्न पनि रहेको उनको बुझाइ छ। किन भइरहेको छ र कसको महत्त्वाकाङ्क्षाले यस्तो हुन्छ? भन्ने प्रश्नहरूको उत्तर फिल्मले दिन खोजेको अभिनेता राईले बताए।
फिल्मको कथाले विशिष्ट प्रतिशत जनतालाई मात्र नभई संसारभर रहेका नेपालीहरूलाई छुने उनको विश्वास छ। ‘मैले यति प्रतिशत भन्दिन तर ‘महाभोज’ले हरेक नेपालीलाई छोइहाल्छ। यो आम जनताको कथा हो’, उनले भने।
फिल्मको कथा सहकारी संस्थाका नाममा सर्वसाधारणले जम्मा गरेको रकम अपचलन गर्नेहरू र त्यसबाट सिर्जना भएको वर्ग संघर्ष, पारिवारिक, सामाजिक तथा नैतिक संकटको कथा रहेको टिमको दाबी छ।
दिनेश राउतले निर्देशन गरेको फिल्मका निर्माता हिमाल कडरिया हुन्। फिल्ममा कलाकार आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहको अभिनय छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![‘प्रकाश’ युट्युबमा सार्वजनिक [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/10/prakash-film.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 