अपांगता सशक्तीकरण समाजद्वारा विद्यालय तहमा समावेशी शिक्षा अभियान

हिमाल प्रेस ४ जेठ २०८२ १०:१३ | Sunday, May 18, 2025
अपांगता सशक्तीकरण समाजद्वारा विद्यालय तहमा समावेशी शिक्षा अभियान

ललितपुर-  बागमती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय, ललितपुरको सहयोग तथा अपांगता सशक्तीकरण समाज नेपालको आयोजनामा अपांगता अधिकार तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम ललितपुरका चार सामुदायिक विद्यालयहरूमा सम्पन्न गरिएको छ।

कार्यक्रम आदर्श कन्या निकेतन माध्यमिक विद्यालय, चण्डी माध्यमिक विद्यालय, श्रमिक शान्ति माध्यमिक विद्यालय र प्रभात माध्यमिक विद्यालयमा सम्पन्न भएका हुन्।

चारै विद्यालयमा गरी करिब २४० जना विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए। सहभागीहरूलाई अपांगता भएका व्यक्तिहरूका अधिकार, समावेशी शिक्षा प्रणाली, भिन्न क्षमताका व्यक्तिप्रति समान व्यवहार र सहानुभूतिपूर्ण दृष्टिकोणबारे जानकारी दिइएको थियो।

कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष टेकनाथ न्यौपाने, कार्यसमिति सदस्य सुमन घिमिरे, महासचिव ई. कृष्ण महर्जन र कार्यक्रम सहयोगी कुञ्जन काफ्लेले गरेका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता विषयहरूबारे पहिले थोरै मात्र जानकारी रहेको बताउँदै अभिमुखीकरणपछि सोचमा सकारात्मक परिवर्तन आएको प्रतिक्रिया दिएका थिए। उनीहरूले समावेशी शिक्षा सबैका लागि समान अवसर सुनिश्चित गर्न आवश्यक रहेको बताए।

संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले सहभागीहरूलाई सम्बोधन गर्दै समाजमा विद्यमान विभेदपूर्ण सोचलाई हटाउन यस्ता सचेतनामूलक कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले विशेष गरेर विद्यालय तहबाटै समावेशी शिक्षा र अपांगता सम्बन्धी चेतना फैलाउनु आवश्यक रहेको बताए।

कार्यक्रमले विद्यार्थी तथा शिक्षक समुदायमा अपांगता भएकाप्रति सकारात्मक दृष्टिकोण विकास गर्न मद्दत पुर्‍याएको र आगामी दिनमा यस्ता कार्यक्रम अझै विस्तार गरिने संस्थाले जानकारी दिएको छ।

प्रकाशित: ४ जेठ २०८२ १०:१३ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast