‘अपरेसन सिन्दूर’ : ३५–४० पाकिस्तानी सैनिक र सयबढी आतंकवादी मारिएको भारतीय सेनाको दाबी

हिमाल प्रेस २८ वैशाख २०८२ २०:३३ | Sunday, May 11, 2025
‘अपरेसन सिन्दूर’ : ३५–४० पाकिस्तानी सैनिक र सयबढी आतंकवादी मारिएको भारतीय सेनाको दाबी पाकिस्तानको सीमावर्ती परिचालित भारतीय सेना। तस्बिर : एएफपी/रासस

काठमाडौँ– भारतीय सेनाले ‘अपरेसन सिन्दूर’ मार्फत सम्पूर्ण लक्ष्य प्राप्त भएको जनाएको छ। पाकिस्तानसँग भएको संघर्षविरामपछि ‘अपरेसन सिन्दूर’ बारे जानकारी दिन आइतबार साँझ पत्रकार सम्मेलन गरेर सेनाले यस्तो बताएको हो।

‘अपरेसन सिन्दूर’ अन्तर्गत ७ मेमा पाकिस्तनमा भएको सैन्य कारबाहीमा सयभन्दा बढी आतंकवादी मारिएको भारतीय सेनाले जनाएको छ।

पत्रकार सम्मेलनमा भारतीय सेनाका महानिर्देशक सैन्य सञ्चालन (डीजीएमओ) लेफ्टिनेन्ट जनरल राजीव घई र एयर मार्शल एके भारतीले भारतीय सैन्य आक्रमणमा ३५ देखि ४० पाकिस्तानी सेना मारिएको दाबी गरे।

मिडिया ब्रिफिङमा एयर मार्शल भारतीले ७ मेको आक्रमणमा नष्ट गरिएका ‘आतंकी अड्डा’ को तस्बिरहरू पनि साझा गरे। यी तस्बिरहरूमा पाकिस्तानको मुरीदके र बहावलपुरस्थित आतंक अड्डामाथि भारतीय वायुसेनाले सटिक निशाना लगाएको देखाइएको छ।

भारतीले भने, ‘हामीले ७ मेमा आतंकवादी अड्डामा सटिक आक्रमण गर्‍यौँ। यसअघि र पछिको तस्बिरहरूबाट यी अड्डाहरू नष्ट पारिएको प्रस्ट हुन्छ।’

त्यस्तै लेफ्टिनेन्ट जनरल घईले ७ मेमा भारतले अपरेशनअन्तर्गत तय गरिएका ९ आतंकवादी अड्डामाथि आक्रमण गरिएको बताए। उनले भने,‘यी आक्रमणहरूमा सयभन्दा बढी आतंकवादीको मृत्यु भएको छ। यो कारबाही पहलगाममा २६ जनाको हत्याको जवाफमा गरिएको हो।’

उनले भारतीय सैन्य कारबाहीमा मारिनेहरूमा चिरपरिचित आतंकवादीहरू रहेका जानकारी दिए। घईले भारतीय सैन्य कारबाहीमा युसुफ अजहर, अब्दुल मलि रऊफ र मुदस्सिर अहमदलगायतका आतंकवादीहरूको मृत्यु भएको बताए।

एयर मार्शल भारतीले मे ८ र ९ राति पाकिस्तानले ड्रोन, यूएवी र यूएसवी प्रयोग गरेर भारतको श्रीनगरदेखि गुजरातसम्म सामूहिक आक्रमणको प्रयास गरेको बताए। उनले भने,‘हाम्रो बलियो वायु रक्षा प्रणालीका कारण कुनै पनि रणनीतिक स्थान वा नागरिक बस्तीमा कुनै क्षति पुग्न सकेन। भारतीय वायुसेनाले समयमै यी आक्रमणहरूलाई निस्तेज पार्‍यो।’

प्रकाशित: २८ वैशाख २०८२ २०:३३ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast