क्यानभासमा मेलुङ–२०८२ प्रदर्शनी

हिमाल प्रेस १७ वैशाख २०८२ २१:०६
14
SHARES
क्यानभासमा मेलुङ–२०८२ प्रदर्शनी

काठमाडौँ– कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि मेलुङ गाउँपालिकामा ‘क्यानभास–२०८२’ नामक चित्रकला प्रदर्शनी आयोजना गरिएको छ।

मेलुङ गाउँपालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यहरूलाई चित्रमार्फत उजागर गर्ने उद्देश्यसहित सुरु गरिएको यो प्रदर्शनीले गाउँको पहिचानलाई रङ र रेखामार्फत प्रस्तुत गरेको छ।

मेलुङ गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजना तथा चरिकोट मिडिया फाउण्डेशनको व्यवस्थापनमा सञ्चालन गरिएको प्रदर्शनीबारे मिडिया फाउण्डेशनका अध्यक्ष जीवन लामाले जानकारी दिए।

१५ जना कलाकारले कोरेका डेढ दर्जन चित्रहरूमा गुम्बा, मन्दिर, कृषि, जीवनशैली, संस्कृति र पर्यटकीय स्थलहरूलाई कलात्मक ढंगमा उतारिएको छ। यस्तै, मेलुङको जीवन झल्काउने १५ वटा कलात्मक तस्बिरले पनि प्रदर्शनीलाई थप आकर्षक बनाएका छन्।

कलाकार विक्रम तामाङका अनुसार वैशाख १७ गते सदरमुकाम चरिकोटमा पनि एकदिने प्रदर्शनी गरिनेछ। जिल्लामा चित्रकलाको प्रचारप्रसार र महत्व दर्शाउन यो प्रदर्शनी आयोजना गरिएको उनको भनाइ छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले राजधानी केन्द्रित कलालाई अब गाउँ–गाउँसम्म पु¥याउने अभियानमा आफूहरू लागेको जानकारी दिए। उनले यसअघि पनि विभिन्न स्थानीय तहहरूसँग समन्वय गरी चित्रकला गोष्ठी र प्रदर्शनी आयोजना गरिएको स्मरण गर्दै आगामी दिनमा अझ धेरै ठाउँमा कला पु¥याउने प्रतिवद्धता व्यक्त गरे।

मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले स्थानीय सरकार भौतिक पूर्वाधार निर्माणमामात्रै सीमित नरही, कला–संस्कृतिको जगेर्नामा समेत सक्रिय रहेको बताए। उनले नवनिर्मित भवनमा मेलुङको मौलिकता झल्किने कला संग्रहालय स्थापना गर्ने योजना पनि सुनाए।

क्यानभास प्रदर्शनी मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङको अध्यक्षतामा तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा उपाध्यक्ष गायत्री आचार्य, राष्ट्रिय ललितकला संघका अध्यक्ष एनबी गुरुङ, गाउँपालिकाका प्रवक्ता नवराज खड्का र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चापागार्इँले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कला, संस्कृति र पहिचानको संगम बनाइएको क्यानभास–२०८२ ले मेलुङलाई रंग–रेखामार्फत नयाँ परिचय दिएको छ।

प्रकाशित: १७ वैशाख २०८२ २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast