संस्कार शिक्षा भाग २ लोकार्पण

हिमाल प्रेस १७ वैशाख २०८२ १८:५४
158
SHARES
संस्कार शिक्षा भाग २ लोकार्पण

काठमाडौँ– वैदिक अनुसन्धान गुठी (वाग) र भाना फाउन्डेसनको संयुक्त आयोजनामा बुधबार संस्कार शिक्षा भाग-२ लोकार्पण गरिएको छ। अक्षय तृतीयका अवसरमा काठमाडौँको गौरीघाटस्थित आश्रममा आयोजित समारोहमा पुस्तकको विमोचन गरिएको हो।

डा. स्वामी केशवानन्दद्वारा लेखिएको यो संस्कार शिक्षासँग सम्बन्धित यो दोस्रो पुस्तक हो। यसअघि प्रकाशित संस्कार शिक्षा भाग १ देशका विभिन्न विद्यालयमा पठनपाठन हुँदै आएको छ भने केही पालिकाले अनिवार्य रूपमा लागू गरेका छन्। नेपाली परम्परा, संस्कृति, संस्कारका विभिन्न विषयमा सरल र रोचक रूपमा लेखिएका सामग्री निकै उपयोगी छन्। समुज्ज्वल भविष्यका लागि शास्त्रीय आधार, सनातन संस्कृति र मानवीय मूल्यको सर्वोत्कृष्ट यात्रा भन्ने सदाशयतासाथ पुस्तकको प्रकाशन वैदिक अनुसन्धान गुठी (वाग) र भाना फाउन्डेसनले गरेका हुन्।

समारोहमा धर्मकर्म वेबसाइट र मोबाइल एपको पनि शुभारम्भ गरिएको छ। धर्मकर्म वेबसाइटका माध्यमले वैदिक ज्ञानलाई जनजनसमक्ष पुर्‍याउने लक्ष्य लिएको छ। मोबाइल एपका माध्यमबाट हाम्रा सनातन संस्कृति र जीवनपद्धतिका विभिन्न विषयको जानकारी लिने सकिनेछ। यसैगरी वैदिक ज्ञानविज्ञान प्रचारप्रसारका लागि स्थापना गरिएको वाग् स्टुडियोको समेत समुद्घाटन गरिएको छ। स्टुडियो निर्माणपछि सनातन संस्कृतिका जीवनोपयागी आयामहरूलाई श्रव्यदृश्य माध्यमबाट बाहिर ल्याउन सहज हुने अपेक्षा गरिएको छ।

समारोहमा सम्बोधन गर्दै वैदिक अनुसन्धान गुठी (वाग) का संस्थापक डा. स्वामी केशवानन्दले आफ्नो मौलिकता गुमाउँदै गएको विद्यमान शिक्षा प्रणाली सुधार्न हरेक अभिभावक सक्रिय हुनुपर्नेमा जोड दिनुभएको थियो। यसैगरी उहाँले देशका विभिन्न विद्यालयले पठनपाठन थालेको संस्कार शिक्षा भाग १ निकै लोकप्रिय हुँदै गएकाले दोस्रो भाग प्रकाशन गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘पुस्तक प्रकाशन गर्ने, वेबसाइट र एप निर्माण गर्ने एवम् स्टुडियो तयारीका लागि सहयोग गर्ने सबै महानुभाव धन्यवादका पात्र हुनुहुन्छ।’

कार्यक्रम वागका संरक्षक नानुमाया रिसालको प्रमुखातिथ्य, प्रा.डा. महादेव अवस्थी, समाजसेवी दीपक रिमालको विशिष्टातिथ्यमा सम्पन्न भएको थियो।

विगत तीन वर्षदेखि निरन्तर गौरीघाट, जाउलाखेललगायत देशका विभिन्न स्थलमा सञ्चालित संस्कार शिक्षा ग्रहण गर्ने छात्रछात्रामध्ये सर्वोत्कृष्ट छात्राका रूपमा सुश्री आँचल बसेललाई सत्संग भवन जाउलाखेलका अध्यक्ष दीपक रिमालद्वारा नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित: १७ वैशाख २०८२ १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast