
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन्। सर्वोच्च अदालतले यसअघि पक्राउ गर्न पठाइएको पत्र कार्यान्वयन नगर्न अर्को पत्र पठाएपछि रेशम रिहा भएका हुन्।
बुधबार जनमत पार्टीसँग एकता घोषणाको कार्यक्रम सुरू हुन लागेका बेला सादा पोसाकमा पुगेका प्रहरीले उनलाई प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको थियो।
सर्वोच्च अदालतका रिट शाखाका अधिकृत महिनमानसिंह विष्टले २०८० जेठ २ गते सार्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्न पत्र पठाएपछि प्रहरीले रेशमलाई पक्राउ गरेको डिल्लीबजार कारागारलाई बुझाएको थियो।
तर, सर्वोच्चले अधिकृत विष्टले पठाएको पत्र अनधिकृत भएको भन्दै कार्यान्वयन नगर्न प्रहरीलाई अर्को पत्र पठाएपछि रेशम रिहा भएका हुन्। रिहा हुने भएपछि नाउपाकी अध्यक्षसमेत रहेकी रेशमकी पत्नी रञ्जिता चौधरी श्रेष्ठ डिल्लीबजार कारागार पुगेकी थिइन्। त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउत, प्रवक्ता शरदसिंह यादवलगायतका नेता कार्यकर्ताहरू डिल्लीाबजार कारागार पुगेका थिए।
अनधिकृत पत्र लेख्ने विष्टमाथि कानुनबमोजिमको कारबाही प्रक्रिया सुरू भएको सर्वोच्च अदालतले जनाएको छ।
२०८० जेठ २ गते सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतले गरेको जन्मकैदको फैसला सदर गरेको थियो।
तर, त्यही वर्ष जेठ १४ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आममाफी दिएको थियो।
सर्वोच्च अदालतका रिट शाखाका अधिकृत विष्टले व्यक्तिगत आधारमा सर्वोच्चको लेटरप्याडमा पत्र पठाएको सर्वोच्चले जनाएको छ। व्यक्तिगत आधारमा सर्वोच्चको लेटरप्याड प्रयोग गरेको विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
टीकापुर घटनामा मरेका मान्छेहरूको आत्माले पोलेकाले प्रहरीलाई पत्र लेखेको विष्टले प्रहरीसमक्ष बयान दिएका छन्।