
काठमाडौँ- बंगलादेश सम्मिलित सनानत जागरण जोतका प्रवक्ता चिन्यम कृष्ण दासले जमानत पाएका छन्। राज्यद्रोहको मुद्दा लागेका दासलाई बंगलादेशको सर्वोच्च अदालतले जमानत दिएको हो।
दासमाथि गत २५ अक्टुबरमा चटगाँवस्थित न्यू मार्केट क्षेत्रमा बंगलादेशको झण्डालाई अपमान गरेको आरोप लगाइएको छ। उनलाई यो मामिलामा गत वर्ष २६ नोभेम्बरमा राज्यद्रोहको मुद्दा लगाउँदै प्रहरीले अदालतमा पेस गरेको थियो।
यो मामिलामा दाससहित १९ जनाविरूद्ध चटगाँव प्रहरीमा राज्यद्रोहको मुद्दा दर्ता भएको थियो। त्यसपछि उनीहरूलाई कारागार पठाइएको थियो।
दासलाई जेल पठाउने निर्णयको विरोधमा प्रदर्शनमा उत्रिएका उनका समर्थक र प्रहरीबीच झडपसमेत भएको थियो। झडपमा परी एक जना वकिल सैफुल इस्लामको मृत्यु भएको थियो। दासको गिरफ्तारीप्रति भारतले चिन्ता व्यक्त गरेको थियो।
५ अगस्त २०२४ मा बंगलादेशमा शेख हसिना नेतृत्वको सरकार बर्खास्त भएपछि अल्पसंख्यकमाथि भइरहेको आक्रमणका विरूद्ध सम्मिलित सनातन जागरण जोतले प्रदर्शन गरेको थियो।