उमेर हदको गणितले अनेरास्ववियुमा देखिएको नेतृत्वको लडाइँ

किरण पौडेल १७ वैशाख २०८२ १२:०७
250
SHARES
उमेर हदको गणितले अनेरास्ववियुमा देखिएको नेतृत्वको लडाइँ

काठमाडौँ- नेकपा एमालेको विद्यार्थी भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल) मा उमेर हदको विषयले प्रवेश पाउँदा नेतृत्वका आकांक्षी अन्योलमा परेका छन्। एमाले नेतृत्वले विद्यार्थी संगठनको नेतृत्वमा उमेर हद लगाउने गृहकार्य थालेपछि विद्यार्थी नेताहरू अन्योलमा परेका हुन्।

एमाले स्रोतका अनुसार अखिलमा उमेर हद लगाउने/नलगाउनेमा बहस भइरहेको छ। उमेर हद लगाउँदा ३० वर्ष र ३२ वर्षका विकल्प आइरहेका छन्।

अनेरास्ववियुका नेताहरूका अनुसार केन्द्रीय नेताहरू आफू अनुकूल विद्यार्थी अघि सार्न प्रतिस्पर्धीलाई स्वतः निष्कासित गर्नसमेत उमेर हदको अस्त्र अघि सारिरहेका छन्।

उमेर हद लगाउने वा नलगाउने निर्णय लिने मौका भने विद्यार्थीलाई नै दिइने भएको छ। गत शुक्रबार बसेको अखिल केन्द्रीय सचिवालय बैठकले उमेर हदका विषयमा आगामी सम्मेलनको बन्दसत्रमा टुंगो लगाउने निर्णय गरेको थियो। सम्मेलन जेठ २५ गतेदेखि हुँदै छ। सम्मेलनका लागि महासचिव नरेश रोकायको नेतृत्वमा विधान संशोधन उपसमिति बनेको छ।

‘यसपटक विधान सम्मेलन गर्न नसकिएका कारण एकैपटक सँगै गरिएको हो,’ अखिलका अध्यक्ष समिक बडाल भन्छन्, ‘विधान सम्मेलन नगर्ने भएकाले हलबाटै विधान संशोधन गर्नुपर्ने भयो। यही कारण सम्मेलनबाटै काम सक्न खोजियो।’

उपसमितिले उमेर हदको प्रस्ताव अघि बढाउनेछ। महाधिवेशनको बन्दसत्रमा उमेर हद लाग्ने वा नलाग्ने निर्णय भएपछि तत्काल नेतृत्व चयन हुनेछ। यही कारण आकांक्षी विद्यार्थीहरू कुन पदको तयारी गर्ने अन्योलमा छन्। उमेर हद लाग्दा र नलाग्दा संगठनको नेतृत्वका आकांक्षी भिन्नभिन्न हुन्छन्। विद्यार्थी प्रतिनिधिले अघिल्लो दिन उमेर हद हुने वा नहुनेमा निर्णय बुझेर भोलिपल्ट नेतृत्व चयन गर्नुपर्ने भएको छ।

उमेर हद लागेमा कोको आउँछन् नेतृत्वमा?

उमेर हद नलागेमा वर्तमान उपाध्यक्ष नारायण घर्ती, धर्म गिरी, गोविन्द गिरी, मर्यादा विष्ट र महासचिव नरेश रोकायाहरू अध्यक्षका आकांक्षी हुनेछन्। उनीहरूले अध्यक्ष बन्न आकांक्षी देखाएका छन्। महासचिवको दौडमा हालका सचिवहरू प्रकाश पौडेल र मनोज ताम्ली पनि हुनेछन्। आरती भट्टराई, अञ्जना शिवाकोटी, डा.सुजन कडरिया र दीपक धामी महासचिवका दाबेदार हुन्।

हालसम्म यी कुनै नेतालाई एमाले नेतृत्वले आश्वासन नदिएको स्रोतको दाबी छ। उमेर हद नलागेमा को अध्यक्ष बन्छन्, यो चासोको विषय छ। एमाले नेताहरू संगठनका हालका उपाध्यक्ष र महासचिवबाट नेतृत्व चयन गर्न नचाहेकै कारण उमेर हदको विषय निस्किएको बताउँछन्। किनभने उनीहरूलाई एमाले नेताहरूले नचाहेको र वर्तमान अध्यक्ष समिक बडाललाई समेत असहयोग गरेको आरोप छ।

नेताहरूका अनुसार बडाल आफँै पनि उमेर हदका पक्षमा खुलेका छन्। उपाध्यक्षहरूमध्ये नारायण अध्यक्षका प्रबल दाबेदार मानिन्छन्। अध्यक्षको आंकाक्षी राख्ने धर्म गिरी र गोविन्द गिरी संगठनमा त्यति प्रभावशाली नरहेको विद्यार्थी नेताहरूको दाबी छ। मर्यादाले भने विद्यार्थी राजनीतिबाट बहिर्गमन गर्न सक्ने संकेत दिएकी छन्। महासचिव रोकाय पनि अध्यक्षका प्रबल दाबेदार हुन्। एमाले नेतृत्व उनीप्रति उदार नरहेको नेताहरूको बुझाइ छ। यही कारण पनि एमाले नेतृत्व उमेर हदका पक्षमा खुलेका हुन्।

उमेर हद ३२ लागेमा?

उमेर हद ३२ वर्ष लगाउनुपर्ने माग पनि अखिलमा चलिरहेको छ। यस्तो अवस्थामा सचिव र तल्लो स्तरका पदाधिकारीहरूको मात्र उमेर हद पुग्छ। सचिव प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना शिवाकोटी, डा.सुजन कडरिया, दीपक धामीसहितका नेताहरू ३२ वर्षे उमेर हदमा अध्यक्षका आकांक्षी हुन्। नीहरू सबै अध्यक्ष पदका दाबेदार हुन् वा होइनन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

प्रवक्ता एवं सचिव पौडेल, कडरिया अध्यक्षका प्रबल दाबेदार हुन्। पौडेल एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ निकटस्थ मानिन्छन्। कडरिया एमाले महासचिव शंकर पोखरेल निकट हुन्। उनलाई किशोरविक्रम मल्ललगायतको समर्थन रहेको नेताहरू बताउँछन्।

उमेर हद ३० लागेमा

उमेर हद ३० लागेमा पदाधिकारीबाट आरती भट्टराई र अञ्जना शिवाकोटीको मात्र उमेर पुग्छ। उनीहरू अध्यक्षका आकांक्षी नभएमा स्थायी समितिबाट अध्यक्षका आकांक्षी चुनिनुपर्ने हुन्छ। अखिल नेताहरूका अनुसार ३० लागेमा विकास श्रेष्ठ, कमल जोशीलगायतका नेताहरू अध्यक्ष बन्ने लाइनमा हुन्छन्।

पदाधिकारीभित्रकी आरती अनेरास्ववियु पूर्वअध्यक्ष सुनिता बराल निकटस्थ हुन् भने अञ्जना अखिलका पूर्वनेता उमेश आचार्यकी पत्नी हुन्। ३० वर्षे उमेर हद लागेमा स्थायी कमिटीबाट नेतृत्व चयन हुने सम्भावना छ।

केन्द्रीय नेताहरूले आफू अनुकूल संगठन चलाउन ३० वर्ष उमेर हदको मोलमोलाई थालेका छन् भने आफूनिकट विद्यार्थीलाई अघि बढाएका छन्। पूर्वअध्यक्ष ऐन महर कमल जोशीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छन्।

यस्तै महासचिव नरेश रोकाय विकास श्रेष्ठलाई अध्यक्ष बनाउने पक्षमा छन्। उमेर हद ३० लाग्दा स्ववियु सभापतिहरूलाई समेत समेट्ने प्रयत्न नेताहरूको छ।

उमेर हदमा आफू अनुकूल बनाउन बहस

कतिपय नेताहरू उमेर हद लाग्नु नहुने र सबैले प्रतिस्पर्धा गर्न पाउनुपर्ने बताइरहेका छन्। ‘सबै विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउने अधिकार पाउनुपर्छ। जितहार आफ्नो ठाउँमा छ’, अखिलका कोशी प्रदेश अध्यक्ष जीबी गजल भन्छन्, ‘एकपटक प्रतिस्पर्धा गर्न दिन आवश्यक छ। संगठन सानो बनाएर उमेर हद लगाउनु वैज्ञानिक देखिँदैन।’

विगतमा अनेरास्ववियुको दुई अधिवेशनको बीचमा विधान संशोधनका लागि सम्मेलन बोलाइन्थ्यो। यसपटक विधान सम्मेलन र नेतृत्व चयन एकैपटक हुने भएको छ। त्यसमा पनि साँघुरिएको संगठन र उमेर हदका कारण नेतृत्व चुन्न सकस परेको छ।

अखिलकी केन्द्रीय सदस्य मुना तिवारी अन्य संगठनले उमेर हद लगाइसकेकाले अखिलमा पनि उमेर हद लगाउन उपयुक्त हुने बताउँछिन्।

‘उमेर हद प्रयोग गरेर जान सकिन्छ। किनभने अन्य संगठनले पनि यसलाई प्रयोगमा ल्याएका छन्,’ तिवारी भन्छिन्, ‘स्ववियु चुनावमा समेत २८ वर्षे हद तोकिएका कारण संगठनले उमेर हदकै पक्षमा खुल्दा राम्रो हुन्छ।’

उमेर हद लगाउने पक्षमा देखिन्छ, एमाले नेतृत्व

एमाले नेतृत्व भने उमेर हद लगाउने पक्षमा उभिएको छ। एमाले स्रोतका अनुसार पार्टी नेताहरू ३० वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा छन्। वर्तमान पदाधिकारीभन्दा तलबाट नेतृत्व ल्याउनुपर्ने उनीहरूको भनाइ छ। यही कारण पनि अखिलका अध्यक्ष समिक बडालसहितका नेताहरू उमेर हदकै पक्षमा खुलेका छन्। बडाल उमेर हद ३० लगाउनुपर्ने पक्षमा छन्।

अखिलका सचिव डा. सुजन कडरिया उमेर हदको निर्णय संगठनले सुविचारित ढंगबाट लिने बताउँछन्।

९ सदस्यीय पदाधिकारीले थप अन्योल

गत फागुनमा बसेको नेकपा एमाले पदाधिकारी बैठकले आफ्ना जनवर्गीय संगठनको पदाधिकारी संख्या नौजनामा झार्ने निर्णय लियो। एमालेले जनसंगठनहरू भद्दा भएको भन्दै संख्या सानो बनाउन यस्तो निर्णय लिएको थियो।

पार्टीको यस्तो निर्णयपछि महाधिवेशन हुन बाँकी भ्रातृ र जनवर्गीय संगठनमा हलचल उत्पन्न भएको छ। भ्रातृ संगठनमा अध्यक्ष एकजना, उपाध्यक्ष एक महिलासहित दुईजना, महासचिव एकजना, उपमहासचिव एकजना र सचिवहरू (प्रचार, विदेश मामिला र संगठन हेर्ने तथा आर्थिक जिम्मेवारी हेर्ने गरी कोषाध्यक्षको व्यवस्था गर्ने) ९ सहित जना पदाधिकारी रहने तय गरेको थियो।

एमालेका भातृ संस्थामा केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र सचिवालय रहने व्यवस्थाबाट स्थायी कमिटीको संरचना खारेज गरेको थियो। यो निर्णयले पार्टी अध्यक्षदेखि मुख्य नेतृत्व रिझाएर नेता चुनिँदै आएको प्रवृत्तिमा धक्का लागेको छ। सबैभन्दा ठूलो असर एमालेको विद्यार्थीहरूको जनवर्गीय संगठन अनेरास्ववियुमा पर्ने  दाबी विद्यार्थी नेताहरूको  छ।

प्रकाशित: १७ वैशाख २०८२ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast