
काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत नेपालको राजनीतिक प्रणाली उल्ट्याउने पक्षमा नरहेको दाबी गरेका छन्।
भारत भ्रमणबाट फर्किएपछि मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा. भट्टराईले भारतमा जनस्तरमा नेपालको आन्दोलनप्रति चासो देखिए पनि भारतीय सरकार वा त्यससँग नजिकका शक्तिहरूले यस्ता गतिविधिलाई समर्थन नगरेको बताए।
उनले भने, ‘जनस्तरमा आन्दोलनबारे चासो छ, कतिपयले यसले प्रणाली उल्ट्याउने हो कि भन्ने शंका गरेका छन् तर भारतीय सरकार र प्रमुख शक्तिहरू नेपालमा अस्थिरता ल्याउने क्रियाकलापमा संलग्न छैनन्।’
भारत भ्रमणका क्रममा डा. भट्टराईले भारतीय रक्षामन्त्री तथा भाजपाका वरिष्ठ नेता राजनाथ सिंह, पूर्वउपराष्ट्रपति भगतसिंह कोसियारी, भाजपाका पूर्वअध्यक्ष मुरलीमनोहर जोशीसहितका नेतासँग भेट गरी नेपाल–भारत सम्बन्धका विषयमा छलफल गरेका थिए।
उनी पार्टीको प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन भारत गएका थिए। त्यसै अवसरमा उनले नेपालका पूर्वभारतीय राजदूतहरू श्याम सरण, राकेश सूद, मन्जीवसिंह पुरी र रन्जित रेसँग पनि भेटघाट गरेका थिए भने भारतीय पत्रकारहरूसँग संवाद गरेका थिए।
डा. भट्टराईले भारतको नेतृत्व तहमा नेपाल(भारत सम्बन्ध सुधार्न गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रभावकारी रूपमा काम गर्न नसकेको निष्कर्षमा पुगिएको बताएका छन्। ‘ईपीजी अब स्वीकार्य छैन भन्ने कुरा लगभग तय भइसकेको छ। त्यसैले वैकल्पिक उपाय खोज्नु जरुरी छ,’ उनले भने।
उनले भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्री स्तरमा संवाद र छलफल हुनु आवश्यक रहेको कुरामा जोड दिएका थिए।
नेपाल-भारत सम्बन्ध लयमा ल्याउने पूर्वप्रधानमन्त्री डा. भट्टराईको प्रयत्न