सुन किन्न सिफारिस दिँदा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

हिमाल प्रेस १६ वैशाख २०८२ १९:०७
8
SHARES
सुन किन्न सिफारिस दिँदा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ- सुन खरिदको सिफारिस गर्दा सुन व्यवसाय सम्बन्धित संघ र महासंघले व्यवसायीहरूबाट शुल्क असुल्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार यस्तो निर्देशन जारी गरेको हो।

सुन आयात तथा बिक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ विद्यमान छ। उक्त कार्यविधिको दफा १४ मा सुन व्यवसायसम्बन्धी संघ/महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था छ।

सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघ र महासंघ तथा सिफारिस लिने व्यवसायीलाई उक्त व्यवस्थाको पालना गर्नु र गराउन विभागले आग्रह गरेको छ।

‘सुन व्यवसायसम्बन्धी संघ/महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सोहीअनुसार गर्नु/गराउनु हुन सूचना जारी गरिएको छ,’ निर्देशनमा उल्लेख छ।

नेपालमा वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउँछन्। व्यवसायीहरुले वाणिज्य बैंकहरुबाट किन्नुपर्छ। बैंकबाट सुन किन्नका लागि व्यवसायसँग सम्बन्धित संघ वा महासंघको सिफारिस चाहिन्छ। यसरी व्यवसायीलाई सुन खरिदको सिफारिस दिँदा संघ/महासंघले प्रतिकिलो ६ हजार रुपैयाँसम्म शुल्क लिँदै आएको गुनासोका आधारमा राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो।

प्रकाशित: १६ वैशाख २०८२ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast