
काठमाडौँ– राजतन्त्र पुनःस्थापनाको एजेन्डा उठाउने सबै राजावादी शक्तिहरू एकै ठाउँमा देखिएका छन्। ७ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो सन्देशमार्फत राजसंस्था पुनःस्थापनाको पक्षमा माहोल बनाइदिए पनि राजापक्षधर शक्तिहरू हालसम्म एकै ठाउँमा उभिन सकिएका थिएनन्।
तर, सोमबार राप्रपा नेपालले काठमाडौँको शान्तिबाटिकामा आयोजना गरेको खबरदारी सभामा सबै राजावादी शक्तिहरू एकसाथ हातेमालो गरेको देखिए।
कमल थापा अध्यक्ष नेतृत्वको राप्रपा (नेपाल) ले आयोजना गरेको खबरदारी सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, राजसंस्था पुनः स्थापनाका लागि गठन भएको आन्दोलन परिचालन समितिका संयोजक नवरजा सुवेदी एकै मञ्चमा थिए।
केही पछि कार्यक्रमस्थल पुगेका लिङ्देनलाई राप्रपा नेपालका अध्यक्ष थापाले अँगालो हानेर स्वागत गरे। लिङ्देनसँग हात मिलाए, अँगालो हाने र कुर्सीमा आसनग्रहण गराए। २०७८ मंसिरमा भएको महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि सुरू भएको तिक्तता थापाले बिर्सिएका थिए। बाराबारको स्थितिमा पुगिसकेका थापा र लिङ्देनलाई शान्ति बाटिकाको खबरदारी सभाले महाधिवेशनको तिक्ततालाई ओझेलमा पारिदिएको थियो।
सबै राजावादी पक्षधरहरूलाई एकै ठाउँमा ल्याउने प्रयास यसअघि नभएको होइन। राजसंस्था पुनःस्थापनाका लागि पुराना पञ्च सवेदीको नेतृत्वमा गठन भएको आन्दोलन परिचालन समितिले सबै राजावादी शक्तिहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास गरेको थियो। तर, सुवेदीको कोसिस सफल भएन। उनीहरू आन्दोलन गर्दा राजतन्त्र फर्काउन आन्दोलन गर्दा आयोजकको मात्रै उपस्थिति हुने। तर, अन्य पक्षको सहभागिता देखिँदैन थियो।
१५ चैतमा राजसंस्था पुनः स्थापनाका लागि सुवेदीहरूले गरेको प्रदर्शनका क्रममा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र उपस्थित भए पनि अध्यक्ष लिङ्देन देखिएनन्। त्यस्तै राप्रपा नेपालका अध्यक्ष थापा पनि त्यो कार्यक्रममा पुगेनन्।
त्यसको केहीपछि राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी साभामा कमल थापा, केशरबहादुर देखिएनन्।
कसरी एकै ठाउँमा उभिए राजवादीहरू?
यसअघिसम्म एकअर्कालाई पन्छाउँदै हिँडेका राजावादी शक्तिहरू एकाएक एकै ठाउँमा उभिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। हुन त राज संस्था पुनःस्थापनाका लागि अभियान चलाइरहेको राप्रपा बनेकै बेला उनीहरू एकजुट हुनसकेका थिएनन्। एकता गरे पनि टुटफुट र विभाजन उनीहरूको नियति नै थियो। यसपटक पनि यही अवस्थाबाट गुज्रिइरहेका थिए, राजवादी शक्तिहरू।
गत चैतमा राजसंस्था पुनःस्थापनाका लागि सुवेदी कमाण्डर तोकिँदासमेत अन्य नेताहरू उपस्थित भएनन्। लिङ्देन र थापा पनि त्यो कार्यक्रममा पुगेनन्। लिङ्देन र थापा दुवैले नेतृत्व लिन आफू योग्य रहेको बताएका थिए।
तर, ८६ वर्षीय सुवेदीले नेतृत्व पाए। उनलाई अभियानको संयोजक तोक्नुपछाडि पूर्वराजा ज्ञानेन्द्रकै निर्देशन रहेको थियो। अभियानमा जुटेका कतिपय नेताहरूले नै पूर्वराजा ज्ञानेन्द्रको चाहनाअनुसार सुवेदीलाई नेतृत्व दिइएको बताएका छन्। सुवेदीले भने यो भनाइलाई खारेज गर्दै आइरहेका छन्। १५ चैतमा तीनकुनेको प्रदर्शन हिंसात्मक भएपछि राजवादी शक्तिरू एकजुट हुन सकेका थिएनन्।
राजसंस्था पुनःस्थापनाका लागि अभियानमा जुटेका शक्तिहरू एकजुट हुनुपछाडि पछिल्ला गतिविधि र एजेन्डा रहेको नेताहरू बताउँछन्। पुनः नारायणहिटीमा फर्किने ‘अस्वाभाविक चाहना’ बोकेर बसिरहेका पूर्वराजा ज्ञानेन्द्रलाई भने एजेन्डा एउटै भए पनि अभियानमा जुटेका शक्तिहरू फरक–फरक बाटो हिँडिरहेको मन पराएको छैन। समाना गन्तव्यमा पुग्ने एजेन्डा बोकेका राजावादी शक्तिहरू एकै ठाउँमा उभिउन् उनले चाहेका छन्। र, यही उद्देश्यका साथ पूर्वराजा ज्ञानेन्द्रले राप्रपाका केही नेताहरूलाई निर्मल निवासमा बोलाएर भलाकुसारी गरेका थिए।
नेताहरूका अनुसार ज्ञानेन्द्रले वास्ता नगरेको गुनासो गर्ने राप्रपा नेताहरूलाई निर्मल निवासको त्यो भेटले हौसला बढाइदिएको छ। राप्रपा अध्यक्ष लिङ्देनसमेत सहभागी भएको निर्मल निवास भेटमा पूर्वराजा ज्ञानेन्द्रले आफू हिंसात्मक आन्दोलनको पक्षमा नरहेको बताउँदै सबै शक्तिलाई एकजुट हुन आग्रह गरेका थिए। एजेन्डा र गन्तव्य एउटै रहेकाले सबै शक्ति एकजुट हुँदा अभियान सफलतापूर्वक अगाडि बढ्ने उनको भनाइ थियो।
पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासको त्यो ‘उपदेश’ राजसंस्था अभियानमा जुटेका शक्तिहरूका लागि ‘लक्ष्मणबुटी’ बनिदिएको छ। निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको केही दिन नबित्दै सबै राजावादी शक्तिहरू एकै ठाउँमा उभिन थालेका छन्। सम्भवतः शान्तिबाटिका पनि त्यही कारण राजा पक्षधर सबै नेताहरू एउटै मञ्चमा देखिए।
राजसंस्था फर्काउने उदघोष
शान्तिबाटिकको खबरदारी सभामा भेला भएका सबै नेताहरूले एकताबद्ध भएर राजसंस्था फर्काउने उदघोष गरे।
राप्रपा अध्यक्ष लिङ्देनले राजसंस्था पुनःस्थापनाका साथै हिन्दूराष्ट्रको पक्षमा हुने सबै शान्तिपूर्ण कार्यक्रममा आफ्नो ऐक्यबद्धता हुने बताए। पार्टीले राखेको मान्यतामा आधारित सबै कार्यक्रममा आफ्नो सहमति हुने उनको भनाइ थियो।
लिङ्देनले देशको अस्मिताको रक्षाका लागि सबै देशभक्त र राष्ट्रवादी शक्तिहरू एकठाउँमा आउन जरूरी रहेको बताए। उनले प्रजातन्त्र र लोकतन्त्रको नाममा देशमा लुटतन्त्र, निरंकुशता हावी भइरहेकाले त्यसको अन्त्यका लागि आफूहरूबाहेक अन्य कुनै विकल्प नरहेको दाबी गरे।
राप्रपा नेपालका अध्यक्ष थापाले अहिलेको अवस्थामा समान विचार भएका सबै एक ढिक्का भएर अघि बढ्नसके छिट्टै हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सकिने बताए।
संयुक्त रूपमा केही हप्ताभित्रै आन्दोलनको घोषणा गरेर एकताबद्ध भएर निष्कर्षमा पु¥याउन सकिने उनको तर्क छ। थापाले राष्ट्रवादीहरूको एकता सबैको चाहना भएकाले त्यसतर्फ अघि बढ्ने उल्लेख गरे।
राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले आवश्यक पर्दा राष्ट्रवादीहरू एकजुट हुने भन्दै अहिले त्यसको ज्वलन्त उदाहरण देखिएको बताए।
उनले राजसंस्था, हिन्दू राष्ट्र तथा बहुदलीय प्रजातन्त्रका लागि मिलेर नै अघि बढ्नुपर्नेमा जोड दिए। राजावादी नेता केशरबहादुर विष्टले राष्ट्रवादीहरूको प्रदर्शनलाई राज्यले नै हिंसात्मक बनाएको आरोप लगाए।
कति टिक्ला मिलन?
जेनतेन एकजुट देखिएका राजावादीहरूको एकता टिकिरहनेमा भने शंका आशंका देखिएको छ। विगतका तिक्तता र विभाजनका प्रसस्त उदाहरणहरू रहेकाले उनीहरू एक भइरहनु त्यति सहज नभएको नेताहरूको भनाइ छ।
सबैभन्दा बढी तिक्तता र असन्तुष्टि राप्रपा र राप्रपा नेपालबीच नै छ। किन भने यी दुवै दल नेताहरूको व्यक्तिगत ‘इगो’ का कारण विगतमा विभाजित भइसकेका छन्।
तीन वर्षअघि लिङ्देनसँग अध्यक्ष पदमा हार बेहोरेपछि थापा राप्रपाबाट बाहिरिएको थियो। शान्तिबाटिकामा भने दुवै नेता सँगै उभिएर एकताको सन्देश दिने प्रयास गरेका थिए।
बारम्बार टुटफुटको राजनीतिबाट गुज्रिएका नेताहरूबीच एक भएर बसिरहनु चुनौती रहेको राप्रपा नेता जनकराज पाठकको भनाइ छ।
‘आजको मञ्चको कार्यक्रम सार्वजनिक खपतका लागि मात्र नहोस्, एकताका लागि ठूलो छाती बनाउनुहोस्,’ पाठक भन्छन्,‘गणतन्त्रवादीहरूलाई चुनौती दिन समेत एक हुनुपर्छ।’
प्रसाईँबारे लिङ्देनको मौनताप्रति असन्तुष्टि
सबै राजावादी शक्ति एक शक्तिहरू एक भएर शान्तिबाटिकामा प्रहरी हिरासतमा रहेका नेताहरू छुटाउन दबाब दिएका थिए। तीनकुने हिंसात्मक घटनामा पक्राउ परेकाहरूलाई सरकारले तत्काल रिहा गर्नुपर्ने उनीहरूको भनाइ थियो।
यही घटनामा पक्राउ परेको अभियानका कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अझै प्रहरी हिरासतमै छन्। शान्तिबाटिकाको कार्यक्रममा प्रायः जसो नेताहरूले रिहाइको माग गरे पनि राप्रपा अध्यक्ष लिङ्देनले भने प्रसाईँको प्रसंग कोट्याएनन्। उनको यो मौनतालाई लिएर असन्तुष्टि चुलिएको छ।
प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले लिङ्देनप्रति असन्तुष्टि व्यक्त गरेको छ।
‘सबै राजावादी शक्ति एकठाउँमा उभिनु राम्रो हो। तर, राप्रपाका अध्यक्षज्यूले दाइ (प्रसाईँ) का बारेमा नबोल्नु चाहीँ स्वाभाविक लागेन,’ अभियानका नेता प्रेमदीप थाम्सुहाङ भन्छन्,‘कमल थापाज्यूले खुलेरै बोल्नुभयो। तर, राप्रपा अध्यक्षले बोलेको सुनिएन।’
यअसघ पनि लिङ्देन र प्रसाईँबीच असन्तुष्टि देखिएको थियो। प्रसाईँले राप्रपाबाट राजावदी आन्दोलन सफल नहुने अभिव्यक्ति दिएपछि लिङ्देन असन्तुष्ट बनेका थिए।
‘यो आन्दोलनको जड र राजावादी माहोल बनाउने दुर्गा दाइ नै हो। राप्रपाबाट त राजावादी आन्दोलन सफल हुँदैन भनेर दुर्गा दाइले भनेकै हुन्,’ उनी भन्छन्,‘राप्रपालाई जनताले जुन अभिमत दिएका थिए, त्यो अनुसारको एजेन्डा उठान नभएकै कारण त आज अरूले राजतन्त्रको वकालत गर्नु परेको हो।’