
काठमाडौँ– तीन वर्षअघि महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि राजेन्द्र लिङ्देनसँग राप्रपाका तत्कालीन नेता कमल थापाको दूरी बढ्यो। महाधिवेशनमा चुनावी परिणाम जेसुकै आए पनि अर्को दल नखोल्ने र राप्रपामै बसेर एजेण्डा अगाडि बढाइरहने प्रतिवद्धता थापाले गरेका थिए।
२०७८ मंसिरमा काठमाडौँमा भएको महाधिवेशनमा अध्यक्ष पदका लागि लिङ्देन र थापा एकअर्कासँग भिडे। लिङ्देनलाई उनलाई २२७ मतको अन्तरले पराजित गरे। लिङ्दनेले १ हजार ८४४ मत ल्याउँदा थापाको १ हजार ६१७ मत थियो।
अध्यक्षमा पराजित भएपछि राप्रपाभित्र थापाको सक्रियता घट्दै गयो। पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई चुनावमा पराजित गराउन भूमिका खेलेको आरोप थापाको थियो। लिङ्देनसँग रुष्ट बनेका उनको पूर्वराजा ज्ञानेन्द्रसँग पनि दूरी बढ्दै गयो।
महाधिवेशनपछि केही दिन मौन बसेका थापा अन्ततः आफ्नै नेतृत्वमा राप्रपा नेपालको स्थापना गरे। र, पार्टीको मुख्य एजेण्डा राजसंस्थाको पुनःस्थापना तथा हिन्दु राष्ट्र बनाए। त्यसयता थापा र लिङ्देन आ–आफ्नो अभियानमा अगाडि बढिरहे पनि सँगै कहल्यिै देखिएनन्। समान एजेण्डा बोकेर पनि थापा र लिङ्देन सँगै नआउनुपछाडि प्रमुख कारण थियो– दुवैले एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्नु।
राजसंस्था पुनःस्थापनाकै लागि भए पनि लिङ्देन र थापा एउटै मञ्चमा देखिन छाडिएका थिए। तर, सोमबार राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा दुवै नेता एउटै मञ्चमा देखिए। दुवै नेतालाई एउटै मञ्चमा ल्याउन पूर्वराजा ज्ञानेन्द्रले भूमिका खेलेको तर्क गरिएको छ। केही दिनअघि निर्मला निवासमा राप्रपा अध्यक्ष लिङ्देनलगायतका नेताहरूसँग भएको भेटमा ज्ञानेन्द्रले राजसंस्था पुनःस्थापनाको अभियानमा लागेका सबैलाई एकजुट हुन आग्रह गरेका थिए। र, उनको त्यही आग्रहपछि लिङ्देन र थापाका साथै राजसंस्था अभियानका लागि आन्दोलन समिति गठन गरेका नवराज सुवेदीहरू सँगै देखिएका छन्।
राप्रपा नेपालले शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले राजसंस्था पुनस्र्थापनाका साथै हिन्दुराष्ट्रको पक्षमा गरिने जुनसुकै शान्तिपूर्ण कार्यक्रममा आफ्नो ऐक्यवद्धता हुने बताएका छन्।
पार्टीले राखेको मान्यतामा आधारित सबै कार्यक्रममा आफ्नो सहमति हुने उनको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचार, कुशासनले आज देश आक्रान्त भएको भन्दै उनले भावी सन्ततिको भविष्यसमेत अन्यौल बन्दै गएको जिकिर गरे। यस्तो अवस्थामा देशको अस्मिताको रक्षाका लागि देशका सबै देशभक्त र राष्ट्रवादी शक्तिहरु एकठाउँमा आउन जरुरी रहेको उनले बताए।
उनले प्रजातन्त्र र लोकतन्त्रको नाममा देशमा लुटतन्त्र, निरंकुशता हावी भइरहेकाले त्यसको अन्त्यको लागि आफूहरुबाहेक अन्य कुनै विकल्प नरहेको दाबी गरे।
लिङ्देनले चैत १५ गते भएको घटनामा पक्राउ परेकाको रिहाइका साथै उक्त घटनाको छानविनका लागि न्यायीक आयोग गठन गर्न सवै मिलेर दवाव दिनुपर्ने धारणा राखे।
त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलको अवस्थामा समानविचार भएका सवै एक ढिक्का भएर अघि बढ्न सके छिटै हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सकिने बताए।
उनले संयुक्त रुपमा केही हप्ताभित्रै आन्दोलनको घोषणा गरेर एकताबद्ध भएर निष्कर्षमा पु¥याउन सकिने तर्क गरे। थापाले राष्ट्रवादीहरुको एकता सबैको चाहना भएकाले त्यसतर्फ अघि बढ्ने उल्लेख गरे।
त्यस्तै राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आवश्यक पर्दा राष्ट्रवादीहरु एकजुट हुने भन्दै अहिले त्यसको ज्वलन्त उदाहरण देखिएको बताए। उनले राजसंस्था, हिन्दु राष्ट्र तथा बहुदलीय प्रजातन्त्रका लागि मिलेर नै अघि बढ्नुपर्नेमा जोड दिए।
त्यस्तै राजावादी नेता केशरबहादुर विष्टले राष्ट्रवादीहरुको प्रदर्शनलाई राज्यले नै हिंसात्मक बनाएको आरोप लगाए।