
लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गरेका छन्। उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको हो। प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालका रूपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन्।
मुख्यमन्त्री आचार्यले भालुबाङ अस्पताललाई विशिष्टीकृत अस्पतालका रूपमा प्रदेश सरकारले अघि बढाएको र जनशक्तिको व्यवस्थापनसहित गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने बताए। दाङ, अर्घाखाँची, प्युठान, रोल्पासहितका जिल्लाका नागरिकले उपचार पाउने भरपर्दो अस्पतालका रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मातहत रहेका अस्पतालबाट विशेषज्ञ उपचार सेवा प्रभावकारी रूपमा सञ्चालन गरिने बताए। अस्पतालहरूलाई पूर्वाधार सम्पन्न, विशेषज्ञ जनशक्तिको व्यवस्थापनसहित उपकरण र सेवा प्रवाह चुस्त बनाउने गरी सरकार अघि बढेको उनको भनाइ छ।
दुर्गम क्षेत्रका अस्पतालहरूमा विशेषज्ञ डाक्टरको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको र सुगम क्षेत्रका अस्पतालमा थुप्रिएको जनशक्ति अन्य स्थानमा पठाउन सरकार लागिपरेको बताए।
नयाँ विशेषज्ञ जनशक्ति भर्ना गर्न खोलिएको विज्ञापनमा अपेक्षित आवेदन नआएको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशमा आउने विशेषज्ञ चिकित्सकलाई सरकारले प्रोत्साहन गर्ने स्पष्ट पारे। उनले भने, ‘सुगम क्षेत्रका अस्पतालमा विशेषज्ञ जनशक्ति थुप्रिने तर अन्य अस्पतालमा जनशक्ति नहुने अवस्था अन्त्य गर्न चाहन्छौँ। मुख्यमन्त्री आचार्यले भने सरकारले यस्ता समस्या गम्भीर रूपमा लिन्छ र सुधारका लागि पहल गर्छौँ।’
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताए। प्रदेश सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारणमा ध्यान दिँदै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको जनशक्ति व्यवस्थापनमा सरकारले विशेष ध्यान दिएको जानकारी गराए।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले यसअघि विशेषज्ञ सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता रहेको र अब उक्त बाध्यता अन्त्य भएको बताए। उनले अस्पतालको जग्गा प्राप्तिको विषयलाई छिटो टुंगोमा पुर्याउन जोड दिए।
स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले भालुबाङ अस्पतालमा विशेषज्ञ उपचार सेवा विस्तार गरिएको जानकारी दिइन्। उनले भनिन्, ‘स्वास्थ्य संस्थामा जनशक्तिको व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिएको छ। गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्दै नवीन उपकरणहरूको प्रयोगमा ध्यान दिएका छौंँ। स्वास्थ्य संस्थाहरूलाई आत्मनिर्भर बनाउनेतर्फ पनि ध्यान दिन जरुरी छ।’
स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले सबैको सहकार्य र योगदानको आधारमा अस्पतालको सेवा विस्तार गर्नुपर्नेमा जोड दिए।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. आकाश बेल्वासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डाक्टर रणबहादुर बोगटीले उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी हुँदै प्रस्तावित अस्पताल भएर भालुबाङ अस्पतालका रूपमा अगाडि बढेको जानकारी दिए। २०७८ सालमा प्रस्तावित अस्पतालका रूपमा स्वीकृत भइसकेको अस्पतालमा अहिले विशेषज्ञ सेवा विस्तार गरिएको हो।
अस्पतालमा जटिल प्रसूति सेवाअन्तर्गत शल्यक्रिया गरिँदै आएको छ। हालसम्म ५१ वटा जटिल प्रसूतिको शल्यक्रिया गरिएको छ। सर्जरी सेवा विस्तार गरिएको र अब रक्त सञ्चार केन्द्र आवश्यक रहेको जानकारी गराइएको छ।