
काठमाडौँ- प्रतिनिधिसभाका पाँच सांसदहरूले शिक्षक आन्दोलन र विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको सूचना दिएका छन्।
उनीहरूले नेपाल सरकार र नेपाल शिक्षक महासंघसँगबीच गरिएका सम्झौता कार्यान्वयन गराउन, विद्यालयहरुलाई गुणस्तरीय बनाउन, लाखौँ विद्यार्थीको पठनपाठन सञ्चालन गर्न र गराउन तथा निर्धारित समयमा परीक्षा सञ्चालन गर्न जरुरी सार्वजनिक महत्त्वको विषयमा छलफल गर्न सोमबार प्रस्ताव गरेका हुन्।
यसैगरी सांसदहरूले चिकित्सा शिक्षा आयोगले गरेको निर्णय कार्यान्वयन गराउन तथा स्वास्थ्य सेवालाई गुणस्तरीय र सुलभ बनाउन पनि छलफल आवश्यक भएको औँल्याएका छन्। प्रस्तावकका रूपमा सांसद हितराज पाण्ड छन् भने समर्थकहरूमा सन्तोष परियार, शेरबहादुर कुँवर र प्रभु साह, चित्रबहादुर केसी छन्।
उनीहरूको प्रस्तावमा उल्लेख छ, ‘विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघ बीच भएका सम्झौताहरु कार्यान्वयनका लागि नेपाल शिक्षक महासंघको आव्हानमा २७ औं दिनसम्म जारी रहेको शिक्षक सडक आन्दोलदनप्रति हामीहरुको गम्भीर ध्यानाकर्षण भएको छ।’
स्थानीय तह, प्रदेश र राजनीतिक दलका केन्द्रीय कार्यालयहरु हुँदै शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रिले अनशनपछि काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनप्रति सरकार गम्भीर नदेखिएको आरोप सांसदहरूको छ। यसैगरी विगत लामो समयदेखि आफ्नो पेसागत अधिकारका लागि आन्दोलनरत चिकित्सकहरुको आवाजलाई समेत सरकारले बवास्ता गर्दै आएको सांसदहरूले उल्लेख गरेका छन्।
उनीहरूले भनेका छन्, ‘प्रतिनिधिसभामा रहेका हामी यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव छलफलका लागि प्रस्तुत गर्दछौँ।’