
काठमाडौँ- प्रहरीले भाटभटेनी लुटपाटको घटनामा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोरा पक्राउ परेको भन्ने विषय सत्य नहरेको जनाएको छ।
चैत १५ गते राजवादीहरूको प्रदर्शनका क्रममा भाटभटेनीमा भएको लुटपाटको घटनामा कांग्रेसका एक जना सहमहामन्त्रीको छोरा पक्राउ परे पनि विना कारबाही छोडिएको आरोप लागेपछि प्रहरीले यस्तो बताएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले कांग्रेसका छोरा पक्राउ गरी विना कारबाही छोडिएको भन्ने विषयमा कुनै सत्यता नरहेको बताए।
‘यस सन्दर्भमा त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ,’ आइतबार साँझ वोहराले विज्ञप्ति निकालेर जानकारी गराएका छन्।
गत शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भाटभटेनी लुटपाटको घटनामा कांग्रेसका एक जना सहमहामन्त्रीका छोरा पक्राउ परे पनि गृहमन्त्री रमेश लेखकको ठाडो निर्देशनपछि छोडिएको दाबी गरेका थिए।
‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनी लुटपाटमा सत्तारुढ पार्टीको, तपाईँकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ गरेको थियो,’ प्रतिनिधिसभा बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकसँग उनले भनेका थिए,‘किन छोड्नु भएको? तपाईँको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्न कपडा काम लाग्छ भनेर कपडा लिएर गयो। नेताको छोरालाई छोड्नुभयो। उसले ल्याएको मान्छे छुटेन। पछि यो कुरा सार्वजनिक गरिदिन्छु भनेर धम्क्याएपछि दुई घण्टापछि छोड्नुभयो।’
लिङ्देनले लुटपाटमा कांग्रेस सहमहामन्त्रीको छोरा पक्राउ परेको भने पनि नाम खुलाएका थिएनन्।
संसदमा लिङ्देनको टिप्पणीपछि केही सञ्चारमाध्यमले भाटभटेनी लुटपाटको घटनामा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको छोरा संलग्न भएको भन्दै समाचार प्रकाशन गरेका थिए।
सहमहामन्त्री यादवले भने हुँदै नभएको घटनामा छोराको नाम संलग्न गरेर चरित्र हत्या गर्ने प्रयास भएको बताउँदै आरोपको खण्डन गरेका छन्। उनले लुटपाटमा संलग्न कांग्रेस सहमहामन्त्रीका छोराको नाम र तस्बिर सार्वजनिक गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई चुनौतीसमेत दिएका छन्।
त्यस्तै नेपाली कांग्रेसको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो गल्ती ढाकछोप गर्न भ्रम फैलाउने काम गरेको आरोप लगाएका छन्।