परराष्ट्रमन्त्री आरजुले गरेको एउटा कूटनीतिक भूल

चन्द्रशेखर अधिकारी १४ वैशाख २०८२ २१:०९
1.1k
SHARES
परराष्ट्रमन्त्री आरजुले गरेको एउटा कूटनीतिक भूल प्रधानमन्त्री केपी शर्मा ओलीसँग यूएईका उपप्रधानमन्त्री एवं विदेशमन्त्री सेख अब्दुल्लाह बिन जायेद अल नाह्यानसँग र थाइल्यान्डको बैंककमा भएको एसिया र प्रशान्तका लागि आर्थिक र सामाजिक आयोग (ईएससीएपी) को ८१ औं सत्रको अध्यक्षता गर्दै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा।

काठमाडौँ- लामो प्रयासपछि काठमाडौँ आएका युनाइटेड अरब इमिरेट्स (यूएई) का उपप्रधान तथा परराष्ट्रमन्त्री सेख अब्दुल्लाह विन जायद अल नाह्यान खिन्न भएर फर्किए। कारण हो, मन्त्री नाह्यानले समकक्षीसँग दुईपक्षीय मुद्दामा छलफल गर्न नपाउनु।

मन्त्री नाह्यानले छलफलका लागि तयारी गरेका कतिपय दुईपक्षीय मुद्दा आफैँ लिएर गए। काठमाडौँमा रहँदा उनले श्रममन्त्री शरत्सिंह भण्डारी र उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग केही मुद्दामा छलफल गरे। मन्त्री नाह्यानले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।

नाह्यान नेपाल जसको निमन्त्रणामा आएका थिए उनै व्यक्ति अर्थात् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्यान्ड भ्रमणमा थिइन्। राष्ट्रसंघीय एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी आरजु पारिवारिक घुमघाममा व्यस्त हुँदा काठमाडौँ आएका यूएईका परराष्ट्रमन्त्री त्यत्तिकै फर्किएका हुन्।

अमेरिकी र युरोपेली मुलुकका परराष्ट्रमन्त्रीले समेत प्राथमिकतामा राखेर आफैँ भेट्न जाने मुलुक हो यूएई। त्यस्तो मुलुकको उपप्रधान तथा परराष्ट्रमन्त्रीलाई बेवास्ता गरेर नेपालले कूटनीतिमा गम्भीर त्रुटि गरेको विज्ञहरूको टिप्पणी छ।

कूटनीतिका दुई पाटा हुन्छन्- दुईपक्षीय र बहुपक्षीय। नेपालले बहुपक्षीयभन्दा दुईपक्षीयमा जोड दिनुपर्ने उनीहरू बताउँछन्। बहुपक्षीयमा परराष्ट्रमन्त्रीको उपस्थित अनिवार्य मानिँदैन। मुलुकको प्रतिनिधित्व भए हुन्छ। राजदूतले पनि त्यस्तो बैठकमा अध्यक्षता गर्न सक्छन्। यस्तै बुझाइको कमीले गर्दा परराष्ट मन्त्रालय निकै समस्यामा परेको छ। सोही कारण नेपालकोे कूटनीतिक प्रतिष्ठा ओरालो लाग्न थालेको चिन्ता विज्ञहरूको छ।

‘कुनै मुलुकको परराष्ट्रमन्त्री आउँदै छन् भन्ने जानकारी भएपछि परराष्ट्रमन्त्रीले कुन महत्त्वपूर्ण भन्ने ख्याल गर्नुपर्छ,’ पूर्वराजदूत एवम् दुईपटक प्रधानमन्त्रीका सल्लाहकार रहिसकेका डा. दिनेश भट्टराई भन्छन्। यस्ता विषयमा मन्त्रालयका अधिकारीहरूले पनि मन्त्रीलाई सुझाव दिनुपर्ने जोड उनको छ।

‘यूएईसँग हाम्रो सम्बन्ध निकै राम्रो छ। हामीलाई प्राथमिकतामा राखिरहेको अवस्थामा उसलाई बेवास्ता गर्नु भनेको हामीले हाम्रै खुट्टामा बन्चरो हान्नुजस्तै हो,’ भट्टराईले भने, ‘यही कारण कूटनीतिलाई ख्यालख्याल सम्झनु हुँदैन। सबै विषयमा उत्तिकै गम्भीर हुनुपर्छ। कूटनीतिका सेवामा रहनेले पनि दल हेरेर होइन मुलुक हेरेर काम गर्नुपर्छ।’

कूटनीतिका मामिलामा कलम चलाउँदै आएका अग्रज पत्रकार ध्रुवहरि अधिकारीले परराष्ट्र मन्त्रालयलाई प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखे- ‘यूएईका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउने अनि त्यही बेला नेपालकी परराष्ट्रमन्त्री नेपालमा नहुने! यो कस्तो बन्दोबस्त र चाँजोपाँजो हो?’

अधिकारीले नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको मुलुकका परराष्ट्रमन्त्रीसँग उपेक्षा भाव राख्नु गलत रहेको बताए। उनले हिमालप्रेससँग भने, ‘६ लाखभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको मुलुकको परराष्ट्रमन्त्री यस्तो उपेक्षाभाव प्रकट हुने गरी खिन्न भएर फर्कनुपर्ने गरी हाम्रो परराष्ट्रमन्त्री अनुपस्थित हुन खेदजनक हो।’

यूएईका मन्त्री नाह्यानले प्रधानमन्त्री र अन्य मन्त्रीसँग गरेको भेटलाई सद्भावपूर्ण भेटवार्ताका रूपमा लिइन्छ। आपसी हित र मुद्दाका बारेमा भने परराष्ट्रमन्त्रीसँगै भेटवार्ता हुनुपर्छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीले मन्त्री आरजुले पाहुना बोलाएर आफूचाहिँ विदेश भ्रमणमा गएर हदैसम्मको गैरजिम्मेवारीपन देखाएको आरोप लगाए। ती अधिकारीले भने, ‘यस विषयलाई सामान्य रूपमा लिन मिल्दैन। मन्त्रीज्यूको यस्तो प्रवृत्तिले यूएईलाई होइन हामीलाई नै नोक्सानी हुन सक्छ।’

पूर्वराजदूत मधुवन पौडेल पनि यस्ता विषयमा चनाखो हुनुपर्ने बताउँछन्। यूएईमा नियोग उपप्रमुख र कुवेतमा प्रमुख रहिसकेका पौडेलले भने, ‘दुईपक्षीय कुराकानी परराष्ट्रमन्त्री स्तरमै हुनुपर्छ। अन्य मन्त्रालयलाई सहकार्य नगर भन्ने आफू उपलब्ध नहुँदा सीधै कुरा गर्न लगाउनु राम्रो होइन।’ उनले कुनै देशको मन्त्री नेपाल भ्रमणमा आउँदा त्यो देशमा रहेका आफ्ना राजदूतलाई पनि सँगै बोलाउनुपर्ने बताए। उनले भने, ‘यस्तो भ्रमणमा यूएईमा रहेका नेपाली राजदूत सँगै आउनुपर्छ। छलफलको विषय सबै निर्क्योल गर्नुपर्छ। तर त्यस्तो तयारी देखिएन।’

दक्षिण एसियाको पुरानो र अनुभवी कूटनीति भएको नेपालले अर्को मुलुकको परराष्ट्रमन्त्रीलाई बेवास्ता गर्नु कूटनीतिमा नेपाल स्खलित हुँदै गएको सन्देश हो। नेपाल कूटनीतिको प्राथमिकतामा रहेको मुलुकमा पर्छ। परराष्ट्रमन्त्रीको व्यवहार भने त्यस्तो नदेखिएको कूटनीतिज्ञहरूको बुझाइ छ।

यूएईमा कार्यवाहक राजदूत रहिसकेका अर्का पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले भने, ‘पाहुना बोलाएर आफू बाहिर हिँडेको सन्देशले उनीहरु पक्कै खिन्न भए। यो गैरजिम्मेवारीपनको एक उदाहरण हो। यस्तो भ्रमणमा उनीहरु आउनुअघि त्यहाँ रहेको राजदूतलाई बोलाएर सबै जानकारी लिने र एजेन्डागत छलफल गर्न आवश्यक हुन्छ।’

नाह्यान नेपाल आउने कार्यक्रम दुई महिनाअघि तय भएको परराष्ट्र अधिकारीले जानकारी दिएका थिए। परराष्ट्रमन्त्री आरजुलाई जानकारी हुँदाहुँदै राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन र पारिवारिक भ्रमणका लागि थाइल्यान्ड गएकी हुन्।राष्ट्रसंघको कार्यक्रममा नेपालले योजना आयोगका उपाध्यक्ष वा जोकोहीलाई पनि पठाउन सक्थ्यो तर मन्त्री राणा दुईपक्षीय सम्बन्धभन्दा बहुपक्षीयको कार्यमा बिदेसिन रुचाइन्।

परराष्ट्रमन्त्री भएपछि राणा विभिन्न देशमा घुम्ने र मुलुकलाई भार पार्ने काममा तल्लीन छिन्। परराष्ट्रका ती अधिकारीले भने, ‘हाम्रो भन्दा बढी उनीहरूकै चासो थियो। त्यही भएर उपप्रधानमन्त्री स्तरमा भेटघाट गराएका हौँ। यही समयमा परराष्ट्रमन्त्री बाहिर जानुपरेकाले पनि कूटनीतिक पाटोमा पनि उहाँबाटै छलफल भयो।’

अन्य मुलुकका अधिकारीहरू समय मिलाएर लगानी र अन्य विषयमा छलफल गर्न यूएई जान्छन्। हामीकहाँ लगानीका लागि कुरा गर्न आउँछु भन्दा पनि परराष्ट्रमन्त्री अन्यत्र लाग्छन्। पूर्वराजदूत हरिकुमार श्रेष्ठले दुईपक्षीय भेटघाटका लागि आउने मन्त्रीलाई अन्य जोजोसँग छलफल र भेटघाट गराए पनि समकक्षी मन्त्री भएन भने कूटनीतिमा बेवास्ता गरेको सन्देश जाने बताए। उनले भने, ‘त्रुटि भइसकेको छ। अव यसलाई सच्याउने होइन आगामी दिनमा युस्तो कार्य नहोस भने र प्रुथना गनेृ हाे।

आफूलाई घरानिया भन्ने र प्रथम लेडी भएर काम गरेको अनुभव सुनाउने परराष्ट्रमन्त्री राणाबाट याे गम्भीर भूल भएको छ। यूएईले नेपालमा पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्रमा काम गर्न खोजिरहेको छ। दुईपक्षीय कर प्रणालीमा सुधार गराएर यहाँबाट सामान लैजाने उताबाट पनि सामान पठाउने तयारीमा यूएईको छ।

युएईमा ६ लाख बढी नेपाली वैदेशिक रोजगारीमा छन्। यूएईको चासोमा लगानीका लागि बिप्पा सम्झौता परेको छ। घरेलु कामदार पनि यूएईको मागमा परेको छ। सेवानिवृत्त सेना-प्रहरी पनि उनीहरूको माग छ। नेपालले त्यस्ता विषयमा छलफल गर्न सकेको छैन।

परराष्ट्रमन्त्री नाह्यानका साथ यूएईका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायक मन्त्री सइद मुबारक रासिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायक मन्त्री अब्दुल्ला बलाला आएका थिए भने नेपालका लागि यूएईका राजदूत अब्दुल्ला जरवान अलसाम्सी र यूएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू सबै छलफलमा सहभागी भए। उनीहरू पाकिस्तान, श्रीलंका गएर नेपाल आएका हुन्।

सन् २०१३ देखि यूएईको परराष्ट्र मन्त्रालय सम्हालिरहेका नाह्यान यूएई राजपरिवारका वरिष्ठ सदस्यसमेत हुन्। उनी राजाका कान्छा भाइ हुन। उनले निर्णय लिएपछि त्यो उल्टिने सम्भावना हुँदैन। यसअघि नाह्यान काठमाडौँस्थित यूएई दूतावासको स्थापना तथा उद्घाटन समारोहमा सहभागी हुन नेपाल आएका थिए। उनले नेपाल-यूएई सम्बन्धलाई नयाँ उचाइमा लैजाने धारणा राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast