नेपाल हवाई सेवा प्राधिकरण विधेयक संस्था टुक्र्याउन होइन, प्रणाली बलियो बनाउन ल्याइएको हो : मन्त्री पाण्डे

हिमाल प्रेस १४ वैशाख २०८२ १८:२७
10
SHARES
नेपाल हवाई सेवा प्राधिकरण विधेयक संस्था टुक्र्याउन होइन, प्रणाली बलियो बनाउन ल्याइएको हो : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक – २०८१ संस्थालाई टुक्र्याउनभन्दा पनि प्रणालीलाई बलियो बनाएर हवाई सेवा सुरक्षित र भरपर्दो बनाउनका लागि ल्याएको बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले नेपालको हवाई क्षेत्रलाई सुरक्षित, प्रणालीलाई बलियो बनाउन र अन्तर्राष्ट्रिय छविलाई सुदृढ पार्न विधेयक केन्द्रित रहेको स्पष्ट पारे।

मन्त्री पाण्डेले भने, ‘यो विधेयकले संस्थालाई टुक्र्याउनेभन्दा पनि प्रणाली कसरी बलियो बनाउने, दक्ष जनशक्ति कसरी निर्माण गर्ने र प्रभावकारी कार्यान्वयन कसरी सुनिश्चित गर्ने र हाम्रो अन्तर्राष्ट्रिय छविलाई कसरी सुदृढ पार्ने भन्ने विषयमा केन्द्रित छ।’

नेपाल हवाई सेवा प्राधिकरण र नागरिक उड्डयनसँग सम्बन्धित विषयमा संसद्मा व्यापक छलफल भइरहेको उल्लेख गर्दै मन्त्री पाण्डेले भने, ‘भोलि नियामक निकायको विषयमा छलफल गर्नेछौँ। आजका विषय पनि भोलि पूरक प्रश्‍नको रुपमा आउनेछन्। नेपालको आकाशलाई गतिशील र सुरक्षित बनाउनुपर्ने चुनौती छ। यस चुनौतीलाई समाधान गर्न सबै माननीयज्यूहरुको राय र सल्लाह अनुसार आवश्यक परिमार्जन गर्दै लैजानेछौँ।’

पर्यटन क्षेत्र नेपालको विविधतापूर्ण संस्कृति र प्रकृतिबाट लाभ उठाउने अवसर भएको उल्लेख गर्दै उनले भने, ‘त्यसका लागि नेपालको नागरिक उड्डयन क्षेत्र सुचारु, गतिशील र सुरक्षित हुनुपर्छ।’

मन्त्री पाण्डेले भूगोलजन्य चुनौतीहरू र मौसमका अस्थिरताका कारण नागरिक उड्डयन क्षेत्रमा विशेष सावधानी आवश्यक रहेको बताए।

नेपालको पर्यटन र हवाई क्षेत्रमा सम्भावना र चुनौतीहरु दुवै भएको उल्लेख गर्दै उनले सडक यातायातबाट गन्तव्य पुग्न धेरै समय लाग्ने हुँदा हवाई क्षेत्र छोटो समयमा गन्तव्यमा पुर्‍याउने सम्भावना बोकेको क्षेत्र भएको बताए।

‘सोही सम्भावना उपयोग गर्न पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने कार्ययोजना अघि बढाइएको र त्यसको सकारात्मक संकेत देखिएको छ,’ मन्त्री पाण्डेले भने।

नागरिक उड्डयन क्षेत्र सुधारका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल सिन्हाको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन गरिएको र उक्त संयन्त्रमार्फत बृहत छलफल भइरहेको उनले बताए।

‘हामी हवाई नीति परिवर्तनको तयारीमा छौँ। छाता ऐन अर्थात् हवाई ऐनको काम पनि अघि बढिरहेको छ,’ मन्त्री पाण्डेले भने।

अन्तर्राष्ट्रिय र स्वदेशी यात्रुका बिमा सुविधामा ठूलो अन्तर रहेको भन्दै उनले त्यसको समायोजन र पुनरावलोकनका लागि नयाँ ऐन निर्माण भइरहेको पनि जानकारी दिए। साथै, हवाई दुर्घटनापछिका अनुसन्धान र संस्थागत मेमोरी व्यवस्थापनका लागि स्थायी संरचना बनाउने गरी तयारी भइरहेको मन्त्री पाण्डेले बताए।

उच्चस्तरीय अध्ययन समितिबाट प्राप्त सिफारिसलाई ऐन र नीतिमा समावेश गर्दै लैजाने योजना रहेको उनले जानकारी दिए। समितिमा छलफल हुँदा मन्त्रालयका कार्यक्षेत्रका विषयमा गहिरो छलफल हुने गरेको उल्लेख गर्दै उनले थपे, ‘आज यहाँ संसद्मा मन्त्रालयको विषयमा जसरी धारणा राख्नुभएको छ, म ति कुरामा खुसी भएको छु। हामी अझै छलफल गरेर, संशोधन प्रक्रियामार्फत यसलाई अझ प्रभावकारी बनाउन सक्छौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast