
काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षकहरूमाथिको पछिल्लो अभिव्यक्तिलाई आपत्तिजनक भन्दै तीव्र आलोचना गरेका छन्।
आइतबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पौडेलले, ‘प्रचण्डजीका खल्तीका शिक्षक हुन्? यस्तो कुरा गरे पनि हुन्छ प्रधानमन्त्रीले?’ भन्दै आक्रोश व्यक्त गरे।
उनले २७ हजारभन्दा बढी शिक्षकहरू शिक्षा ऐन संशोधनका मागसहित २६ दिनदेखि सडकमा आन्दोलनरत रहेको सन्दर्भ उठाउँदै प्रधानमन्त्रीको भनाइले आन्दोलनरत शिक्षकहरूमाथि विश्वास टुटाउने प्रयास गरेको बताए।
‘विभिन्न चरणमा भएका सम्झौताहरूप्रति विश्वसनीय शिक्षकहरूको खोज्नुभएको हो,’ उनले भने, ‘शिक्षक, कर्मचारी, सेना, प्रहरीहरूलाई अपमान गर्यो भने त्यो सरकारले कसरी राज्य चलाउँछ?’
पूर्वमन्त्री पौडेलले प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिहरू अस्थिर र दोहोरो भएको टिप्पणी गर्दै भने, ‘कहिले शिक्षालाई गाली गर्नुहुन्छ, कहिले सम्मान गर्नुहुन्छ। कहिले निजी शिक्षालाई सम्मान गर्नुहुन्छ, सार्वजनिक शिक्षालाई गाली गर्नुहुन्छ। कुन कुरा पत्याउने?’
उनले शिक्षकहरूलाई राज्यको संरक्षकबाट आस्वस्त गराउनु सरकारको मुख्य दायित्व भएको बताए। ‘विद्यालय पस्दा शिक्षकले महसुस गर्न सक्नुपर्छ- सरकार हाम्रो अभिभावक हो,’ पौडेलले भने।
शिक्षक कर्मचारीहरू शिक्षा ऐन माग गर्दै काठमाडौँमा आन्दोलित छन्। आन्दोलनको २६ औं दिनमा नेपाल प्रहरी र शिक्षकहरूबीच झडप भएको थियो।