बिचौलिया देखाउन गगनलाई प्रधानमन्त्री ओलीको चुनौती

हिमाल प्रेस १४ वैशाख २०८२ १६:२६
32
SHARES
बिचौलिया देखाउन गगनलाई प्रधानमन्त्री ओलीको चुनौती

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेमाथि प्रमाणित गर्न चुनौती दिएका छन्।

आइतबार काठमाडौँमा मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर त्यस्ता आरोप लगाएको भन्दै प्रमाणित गर्न चुनौती दिएका हुन्।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ क्षेत्र नम्बर ४ को एक कार्यक्रममा केही दिनअघि प्रधानमन्त्री ओलीको बेडरुमसम्म विचौलियाको पहुँच रहेको आरोप लगाएका थिए।

‘लिडरसिपलाई कमजोर पार्ने, लिडरसिपको विरूद्ध बोल्ने, जहिलेसुकै लेख्ने बोल्ने, यसखालका कामहरू, विभिन्न प्रकारका आरोपहरू यतिसम्म कि झुटा बिलहरू पनि देखाउने। जानीजानी फटाहा कुरा गर्ने र यस्ता फटाहा कुरा गर्नेहरू स्थापित छन्, चिनिएका, जानिएका, मानिएका,’ उनले भने।

देशमा एमाले र नेपाली काँग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता रहेको भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए। आजकाल निलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तिनीहरुको वास्तविक रुप लामो समय नटिक्ने धारणा राखे।

उनले काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुुस भएको टिप्पणी गरे। ओलीले समयको आवश्यकता र देशको अर्थतन्त्र जोगाउन ठूला दुई प्रतिष्पर्धी दलहरु मिल्नुपरेको बताए।

‘ढल्यो ढल्यो सरकार ढल्यो। अहिले ढल्यो, भरे ढल्यो, भोलि बिहानै ढल्यो,’ उनले भने,‘शेरबहादुरजी फर्किने बित्तिक्कै ढल्यो, शेरबहादुरजीले चिसो पानी टाउकोबाट खन्याइ दिएपछि फेरि छक्क प¥या छन्। शेरबहादुरजी आउने बित्तिक्कै नढलेर के गर्ने? दुई चार दिनमा ढलिहाल्छ भनेर फेरि अर्को गीत सुरू गर्‍या छ।’

उनले जबजको मार्गदर्शन र सही विचार अंगिकार गरेकाले एमाले देशको प्रमुख पार्टी बनिरहेको उल्लेख गर्दै एमालेबिरुद्धको भ्रम तोड्दै ‘मिसन ८४’ मा राष्ट्रिय शक्तिको रुपमा स्थापित हुने दाबी गरे।

उनले विभिन्न बहानामा पार्टी नेतृत्वलाई समेत कमजोर पार्ने काम भइरहेकाले सचेत हुन आग्रह गरे। पार्टीभित्रको आलोचनात्मक चेत र पार्टी बाहिर विरोध गर्नै नसक्ने, लड्नै नसक्ने, झुटको विरोध गर्न नसक्ने देखिएको उनले बताए।

प्रकाशित: १४ वैशाख २०८२ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast